NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

लम्पी स्किन नियन्त्रणको माग गर्दै एमालेले गर्‍यो माइतीघरमा प्रदर्शन

काठमाडौं। नेकपा एमालेले लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ।

एमाले काठमाडौं महानगरपालिका कमिटीले बुधवार काठमाडौंको माइतीघर मण्डलामा सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागिे प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीले लम्पी स्किन महामारी घोषणा गर, किसानलाई तत्काल बीमा उपलब्ध गराउ, किसानलाई गोठगोठमा सेवा उपलब्ध गराऊ, रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर, किसानलाई क्षतिपूर्ति र सहुलियत बैंक कर्जा उपलब्ध गराऊ लगायतका प्लेकार्ड बोकेका थिए।

प्रदर्शन कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयालले लम्पी स्किन महामारी देशभर फैलिसक्दा समेत सरकार कानमा तेल हालेर बसेको बताए। उनले देशभरका किसानलाई समस्या पर्दा सरकारलाई दुख्न नसकेको उल्लेख गरे।

यस्तै काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले देशको आर्थिक अवस्था थला परिरहेका वेला लम्पी स्किन रोगले सताइरहेको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले लम्पी स्किन रोगको तत्काल नियन्त्रण गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताए।