NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

केन्द्रीय कमिटी बैठकमा पुनले भने- अब माओवादी पार्टी बन्ने वातावरण भयो

काठमाडौं । नेकपा माओवादीका केन्द्रीय सदस्य गणेशमान पुनले पार्टीको नेतृत्वमा बनेको सरकार भ्रष्टाचारविरूद्ध अगाडि बढेपछि केहि आशा पलाएको बताएका छन् ।

जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै नेता पुनले पार्टीमा यसअघि निराशा र अन्यौलता रहेको भन्दै सरकारले राम्रा काम गर्दै गएपछि आशा पलाएको बताएका हुन् ।

उनले अब माओवादी पार्टी बन्ने वातावरण तयार भएको बताए । ‘अब माओवादी पार्टी बन्ने वातावरण बनेको छ । तर यसलाई गलत ढंगले अन्यत्र मोड्ने खतरा त्यतिकै छ । यसलाई चिर्न र पार्टी निर्माण गर्न मात्र होइन, देशकै राजनीतिक भविष्यको आशाको नेतृत्व गर्नमा अधिकतम् सफलता हासिल गर्नुपर्दछ,’ उनले भने ।

नेता पुनले २०४६ सालपछि सत्तामा आएका सबै नेताहरुको सम्पति छानबिन गर्न र भ्रष्टाचार निवारणका लागि शक्तिशाली आयोग बनाउनु पर्नेमा जोड दिए ।

उनले सरकारको सम्पूर्ण कार्यक्रमलाई उत्पादन, रोजगारी र औद्योगिकीकरणमा केन्द्रित हुनुपर्ने बताए। पुनले भने,‘ स्थानीय स्तरमा कृषिको उत्पादन, पारिवारिक खेती, सहकारी र समुदायको माध्यमबाट स्थानीय अर्थतन्त्रको प्रवर्धन गर्न ठोस खाकासहित अभियानमा लागौं । सरकारको सम्पूर्ण कार्यक्रमलाई उत्पादन, रोजगारी र औद्योगिकीकरणमा केन्द्रित गर्नुपर्दछ ।’

यस्तै उनले विचार, कार्यदिशा, वामपंथ, सामाजिक न्यायको आधारमा विचार मिल्नेहरूबीच एकता नभए नेपालमा वामपंथी आन्दोलन सकिने खतरा रहेको समेत बताए ।

बैठकमा उनले पार्टीमा युवा किन छैनन् ? भनेर पनि उनले प्रश्न गरे । पुनले भने, ‘किनकि हामीले युवाका एजेण्डा बोकेका छैनौं । युवालाई संगठित गर्नेगरी, युवा र विद्यार्थीहरूलाई छुनेगरी हामी गएकै छैनौं । किन दक्षिणपन्थी हावातिर युवाहरू छन् ? यो कुरा हामी सबैले बुझ्न जरूरी छ। रोजगारी, उद्यम, प्रविधि, वातावरणको क्षेत्रमा युवाहरूलाई परिचालन गर्ने योजना बनाउनु जरूरी छ ।’

केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले बोल्नेक्रम जारी छ। राजधानीको प्रज्ञाभवन कमलादीमा बुधबारदेखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि नेताहरुले धारणा राखिरहेका छन्।