NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

माओवादी केन्द्रीय समिति बैठक सकियो, तीनमहिने विशेष अभियान चलाउने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक घर र परिवारमा पुगेर पार्टीको नीति योजना, कार्यक्रम र सरकारले पछिल्ला दिनमा गरिरहेको काम कारबाहीका बारेमा जानकारी गराउन निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले देशभित्रका प्रत्येक घर परिवारलाई भेट्न र कुनै पनि घर नछाड्न पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिए ।

माओवादी केन्द्रले विशेष अभियानका रुपमा तीनमहिने अभियान सञ्चालन गर्ने भएको छ । सो अभियानमा सात प्रदेशका सात वडावडामा आफैँ खटिने अध्यक्ष प्रचण्डको भनाइ थियो । सो अभियानमा पार्टीका सबै नेता तथा कार्यकर्ता कार्यक्षेत्रमा खटिनुपर्ने उनको भनाइ छ ।

आफू पनि सात वडा प्रदेशको विभिन्न सात वडामा पुगेर जनतासँग साक्षात्कार गर्ने उल्लेख गर्दै उनले अब सबै नेता तथा कार्यकर्ता जनतासँग एकाकार हुनैपर्ने र जोडिनैपर्ने बताए ।

प्रचण्डले अहिले पनि पार्टी र नेतृत्व घेराबन्दीमा रहेको उल्लेख गर्दै सरकारका तर्फबाट भएको काम कारबाहीका बारेमा समेत जनतालाई जानकारी दिन आग्रह गरे ।

उनले पार्टीको मुख्य नेतृृत्व वरिपरि गोलबन्द भएर विधि पद्धतिमा रहेर जनतासँग एकाकार भएर परिवर्तनको स्वामित्व लिने गरी अगाडि बढ्नुपर्ने बताए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय समितिको बैठक असाधारण रुपमा सम्पन्न भएको र विभिन्न २५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको जानकारी दिए।

समाजवादी क्रान्तिको अभियान सुरु भएको उल्लेख गर्दै उनले ‘जनतासँग माओवादी विशेष रुपान्तरणका लागि अभियान’ सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार अभियानको आगामी भदौ १६ गते उद्घाटन हुने छ ।

अभियानमा जनताको घरघरमा जाने र जनताको गुनासो सुन्ने र पार्टीमा केन्द्रित गरिने प्रवक्ता महराले जानकारी दिए । यही साउन १७ गतेदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावमाथि नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

माओवादीले केन्द्रीय समितिलाई चार सय नौ सदस्यीय बनाएको छ । केन्द्रीय समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य ४१ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता थियो । बैठकमा पार्टी सदस्यको सङ्ख्या सात लाख ५२ हजार नौ सय ५६ रहको तथ्याङ्क प्रस्तुत भएको थियो ।

माओवादीको केन्द्रीय समिति बैठक एक वर्षपछि बसेको हो । यसअघि २०७९ साल असार १९ देखि २५ सम्म केन्द्रीय समितिको तेस्रो बैठक बसेको थियो ।

त्यसयता बैठक बस्न सकेको थिएन । पार्टी अध्यक्ष दाहालको नेृत्वमा वर्तमान सरकार गठन भएपछि गत माघ २६ गते ‘श्रव्य दृश्यका माध्यमबाट केन्द्रीय समितिको बैठक बसेको थियो । माओवादी केन्द्रले २०७८ पुसमा आठौँ महाधिवेशन गरेको थियो ।

माओवादीले केन्द्रीय बैठकको प्रत्यक्ष प्रसारण गर्ने पदाधिकारीको निर्णयमाथि स्थायी समितिका नेताहरूले विरोधपछि स्थगित गरेको थियो ।