रविको प्रश्न : राजस्वले गरिरहेको अनुसन्धान सीआईबीलाई दिन कुन कानुनले दियो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद भवनबाहिर संसदीय अभ्यास गरेको छ ।
बुधबारको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि रास्वपा सांसदहरू संसद भवन अगाडि भेला भएर संसदको अभ्यास गरेका हुन् ।
एमालेका सांसदहरुको नाराबाजीका कारण बुधबार पनि संसद अवरुद्ध भएको हो । त्यसपछि रास्वपा सांसदहरुले संसद भवन परिसरबाटै संसदभित्र जसरी सभामुखलाई सम्बोधन गरेर आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ संसदमा मंगलबार सुन तस्करी प्रकरणबारे दिएको अभिव्यक्ति चित्तबुझ्दो नरहेको बताए ।
उनले राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान सीआईबीलाई दिन कुन कानुनले दियो ? भन्दै प्रश्नसमेत गरे । सीआईबी ३५ दिन दिने गृहमन्त्रीको प्रस्तावमा शंका नगर्ने उनले बताए ।
तर अहिले जिम्मेवारीमा भएका मानिसहरुलाई राखेर अनुसन्धान गर्दा प्रभावित हुन सक्ने भन्दै उनले भने, ‘भन्सारको सिंगो सेट, अर्थ सचिवदेखि अर्थ मन्त्रालयको सिंगो सेट, प्रहरी प्रमुखदेखि सिंगो सेटलाई निलम्बन वा अहिले त्यहाँ सहभागी हुन नपाउने व्यवस्था नभई सीआईबीले विना प्रभाव यो काम गर्न सक्ला र ?’
उनले विमानस्थलबाट पास हुनुले सुरक्षा निकाय र भन्सार विभागको मिलेमतो छैन भनेर सन्तुष्ट हुन नसकिने बताए । उनले भन्सार विभागका केही कर्मचारी मात्रै हटाएर अनुसन्धान गर्दा अनुसन्धान न्यायपूर्ण हुन नसक्ने टिप्पणी गरे । उनले सुन तस्करी प्रकरणबारे फोरेन्सिक ल्याबबाट आएको कल रिपोर्ट सार्वजनकि गर्न माग गरे ।
त्यस्तै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक पार्टीका आफ्ना स्वार्थका कारण संसद चल्न नसकेको बताए । उनले राजनीतिमा रजाईं गरिरहेका सत्तासिन दलहरूका कारण नै संसद बन्धक बनेको उल्लेख गरे ।
प्रतिक्रिया