फिटनेस कसले, कसरी गर्ने ? के–के छन् फाइदा ?

काठमाडौं । सामान्य अर्थमा फिटनेस भनेको सबै किसिमले स्वस्थ रहनु हो ।
स्वस्थ रहन खानपानसँगै व्यायाममा ध्यान दिनुपर्छ । बढ्दो बिलासी जीवनका कारण मानिसको स्वास्थ्यमा देखा पर्दै गएका जोखिम र चुनौतीलाई कम गर्न तथा शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न पछिल्लो समय खासगरी शहरी क्षेत्रमा व्यायाम गर्ने प्रचलन बढ्दो छ ।
शरीरलाई स्वस्थ राख्न गरिने विभिन्न अभ्यास तथा व्यायामलाई चिनाउन ‘फिटनेस’ शब्द प्रचलनमा छ । फिटनेसले स्वस्थ जीवनशैली र आहार दुवैलाई महत्त्व दिएको हुन्छ ।
यदि तपाईं खेलकुद र आहारमार्फत आफ्नो स्वास्थ्यमा सुधार गर्न खोज्दै हुनुहुन्छ भने फिटनेस तपाईंका लागि एक आर्दश हो । फिटनेसको एउटा मात्र नभएर बहुआयामिक फाइदा छन् ।
दैनिक निरन्तर १ घण्टा व्यायाम गर्ने र स्वस्थ आहार सेवन गर्नाले शरीरमा आनन्द प्रदान गर्ने हर्मोनको विकास हुन्छ । स्वास्थ्य राम्रो हुन लगनशीलता र धैर्यता दुवै आवश्यक हुन्छ । जसका लागि उपयुक्त विधि हुनसक्छ, फिटनेसको अभ्यास ।
मानिसलाई विभिन्न रोगले आक्रमण गरिरहेको हुन्छ । यीमध्ये ५० भन्दा बढी रोगहरूको रोकथाम फिटनेसको मद्दतबाट गर्न सकिन्छ । फिटनेसलाई शारीरिक गतिविधिको अनुशासनको रूपमा पनि परिभाषित गर्ने गरिन्छ ।
जुन सौन्दर्यताको पक्षमा मात्र केन्द्रित नभई खेलको माध्यमबाट र दैनिक घरायसी गतिविधिबाट सुधार गर्न सकिन्छ । बोसो घटाउन, बढाउन र मांसपेशीहरू कसिलो पार्न फिटनेस सहयोगी सिद्ध हुँदै आएको छ ।
व्यायाम गर्न केही कुरा अपरिहार्य हुन्छन् । लगनशीलता, इच्छाशक्ति र धैर्यता त्यसमध्ये केही हुन् । व्यायामका लागि उपयुक्त योजना र निश्चित समय आवश्यक छ ।
यस्ता छन् फिटनेसका फाइदा
१. हृदय रोग अथवा मुटु रोगको जोखिम कम गर्छ ।
२. चोट पटकका कारण हुने जोखिम कम गर्छ ।
३. मांसपेशीको विकासमा बढावा दिई हड्डीलाई बचाउन विशेष मद्दत गर्छ । फलतः मानिस लड्दा हड्डी भाँचिने अथवा टुट्ने सम्भावना कम हुन्छ ।
४. शारीरिक सुधारको कारणले मात्र नभई खेलकुद र स्वस्थ आहारको अभ्यासले शरीरमा आनन्द महसुस हुने हर्मोनको विकास गर्दछ ।
जसले गर्न हुँदैन व्यायाम
व्यायाम उपयोगी कुरा भए पनि सबैले भने गर्न हुँदैन । खासगरी शरीरका सबै अंग पूर्ण रूपमा नचल्नेले शारीरिक अभ्यास गर्न हुँदैन ।
सामान्य हिँड्डुल गर्न सक्ने व्यक्तिले भने व्यायाम गर्न मिल्छ । तर पूर्ण तन्दुरुस्त र सामान्य हिँड्डुल गर्न सक्ने व्यक्तिले गर्ने व्यायामबीच भने फरक हुन्छ ।
(फिटनेस प्रशिक्षक अन्जिर थापासँग संगीता केसीले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया