NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कागबेनीमा बाढी पस्यो, १० घरसहित पुल बगायो

म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीले यहाँको भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । आइतबार साँझ आएको बाढीले यहाँका घर, सडक एवं सार्वजनिक भवनमा क्षति पुर्‍याएको हो ।

गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलामा आएको बाढी पसेर घर, सडक, सार्वजनिक भवन र पुलमा क्षति गरेको हो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले करिब एक सय घरधुरी रहेको कोगबेनीको बीच बस्तीमा कागखोलाको बाढी पसेको जानकारी दिए ।

‘राति ८ बजे कागखोलामा आएको बाढी बस्तीमा पसेर भागाभाग भएको छ’, उनले भने, ‘तीन वटा घर, तीन वटा पुल र सडक बगाएको छ । खोला आसपासका धेरै घरमा बाढी पसेको छ । स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छौँ । राति भएकाले सबै क्षतिको विवरण सङ्कलन गर्न सकिएको छैन ।’ अहिले बिहानै बाढीग्रस्त क्षेत्र तर्फ जनप्रतिनिधि सहितको टोली हिडेको पालिका अध्यक्ष गुरुङले बताए ।

मानवीय क्षति नभए पनि भौतिक संरचनामा धेरै क्षति भएको अध्यक्ष गुरुङले बताए । कागबेनीभन्दा केही माथि रहेको तिरिखोला थुनिएर बाढी आएको गाउँपालिकाले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधिहरु उद्धारमा परिचालन भएका छन् ।

खम्बा बगाएकाले विद्युत् सुविधा अवरुद्ध भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । सिँचाइको नहर, गुम्बामा पनि बाढीले क्षति गरेको छ । मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीच भागमा छ ।

बाढीले कागबेनीमा १० घर र पक्की पुलसहित धनमाल बाढीले बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए।

कागबेनीको जनशान्ति माविका शिक्षक मनवीर किसानले कागबेनीको पूजास्थल, पुल बाढीले बगाएको र विद्यालयको खेलमैदानमा बाढी पसेको जानकारी दिए। करिब १५ मिटर कटान गरेर कागखोला विद्यालय नजिक पुगेको उनले बताए । बाढी आएपछि छात्राबासका शिक्षक विद्यार्थी सुरक्षित ठाउँमा गएर बसेको शिक्षक किसानले बताए ।