NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बागमतीसहित यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो सुदूरपश्चिम प्रदेश र राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी प्रदेशमा भारी वर्षाको सम्भावना आगामी तीन दिनसम्मै रहने छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहनुका साथै नेपालमा भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकोले हाल देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा सुदूरपश्चिम प्रदेश लगायत कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको यी क्षेत्रहरूमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।