NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची, स्थगित वा अवरोध ?

काठमाडौं । हिजो मंगलबार सूचना टाँगेर स्थगित गरिएको प्रतिनिधिसभा बैठक आज पनि बस्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

१० साउनदेखि मुख्य प्रतिपक्षी एमालेले अवरुद्ध गर्दै आएको संसद् बैठक हिजो दिउँसो ३ बजे संसद् सचिवालयले बस्ने भनेर सूचना निकाले पनि दलहरुबीच उच्चस्तरीय समिति गठनको मस्यौदामा हस्ताक्षर गर्न एमाले अध्यक्ष केपी ओली उपस्थित नभएपछि बैठक बस्दै नबसी स्थगित भएको हो। अवरुद्ध सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकाले आजको संसद् बैठक खुल्ने भनिए पनि शंका भने यथावत् छ।

सोमबार बेलुकी सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न तीन सदस्यीय कार्यदल निर्माण गर्ने सहमति भएपछि मंगलबार खुल्ने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरियो।

आजको संसद् बैठक अगाडि सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति बनाउन सर्वदलीय बैठक बस्दै छ। आज बिहान ११ बजे सर्वदलीय बैठक बस्न लागेको हो।

संसद् सचिवालयले बैठक प्रभावित हुँदै आएकाले पुरानै कार्यसूचीलाई निरन्तरता दिँदै आएको छ। जसमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाइने कार्यक्रम छ ।

आजैको बैठकले टोपबहादुर रायमाझीलाई संसद्बाट निलम्बित भएको जानकारी पनि गराउँदैछ । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नको आरोपमा पक्राउ परेका रायमाझी अहिले जिल्ला अदालत, काठमाडौंको आदेशमा पुर्पक्षका लागि थुनामा छन् ।

त्यसैगरी, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि थप गर्ने प्रस्ताव पनि कानून मन्त्री धनराज गुरुङले प्रस्तुत गर्दैछन् ।

यसबाहेक, शिक्षा मन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने तथा सभामुखले १० वा सोभन्दा बढी पटक बैठकमा अनुपस्थित सांसदको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।