NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

दुई असईसहित १४ प्रहरी जिम्मेवारी छाडेर सम्पर्कविहीन (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकलगायत १४ कर्मचारी आफ्नो जिम्मेवारी छाडेर सम्पर्कविहीन भएका छन् । लामो समय बिना जानकारी गैरहाजिर भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथिको कारबाही प्रक्रिया अघि बढाएको छ ।

देशका विभिन्न कार्यलयमा पोस्टिङ भएका प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार, प्रहरी जवान पदमा कार्यरत १४ प्रहरी कर्मचारी आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले सातदिने स्पष्टीकरण सोधिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गैरहाजिर हुनेहरूमा प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी सहायक निरीक्षक सुष्मा केसी, नगर प्रहरी कार्यालय, भक्तपुरमा कार्यरत अस्मिन शाक्य, प्रहरी चौकी थुस्किहाटमा कार्यरत प्रहरी सहायक हवल्दार कृष्णकुमार तामाङ, गण्डकी प्रदेश प्रहरी गणमा कार्यरत नेत्रप्रसाद काफ्ले, जिल्ला प्रशासन कार्यालय, गुल्मीमा कार्यरत मेषबहादुर राना, प्राविधिक प्रहरी जवान भरत भुल, प्रहरी जवान विकल्प राई, डिलबहादुर खड्का, विशाल परियार, पृथ्वी राई, ऋषिराम अर्याल, धीरज थापा, शेरबहादुर बुढाएर र प्रहरी कार्यालय सहयोगी रोहित प्रसाद यादव छन् ।

सातदिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले उक्त अवधिभित्र पनि सम्पर्कमा नआएमा प्रहरी नियमावली २०७१ बमोजिम थप कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।  प्रहरी नियमावलीमा बिना जानकारी प्रहरी कर्मचारी ९० दिनभन्दा बढी समय गैरहाजिर रहेमा स्पष्टीकरण सोध्ने र त्यसको चित्तबुझ्दो जवाफ नआएमा वा सम्पर्क नै नगरेमा सेवाबाट बर्खास्त गर्ने व्यवस्था छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीमा जागिर अवधि बाँकी छँदै बीच समयमै सेवा छाड्ने क्रम पछिल्ला केही वर्षदेखि तीव्र बनेको छ । न्यून वेतन, अवकाशको समयलगायतलाई यसको मूल कारण मानिन्छ ।