NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

गृहमन्त्रीलाई गगनको प्रश्न- काठमाडौंमा हामी एक्लै हिड्न नहुने हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको गहिरो अनुसन्धान हुनु पर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै महामन्त्री थापाले यो घटना किन र कसरी भयो भन्ने बारेका सबै पक्षमा अनुसन्धान हुनु पर्नेमा जोड दिए ।

‘सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ । तर एउटा सन्काहाले सन्केर हान्यो भनेर एउटा भाष्य निर्माण गरिँदैछ । यसलाई थामथुम पार्ने, सामसुम पार्ने प्रयास गरिँदैछ,’ उनले भने, ‘म नेपाली कांग्रेसका तर्फबाट सरकारलाई सचेत र ध्यानाकर्षण गराउन चाहान्छु । यो विषयको गहिरो अनुसन्धान होस ।’

उनले काठमाडौंमा एक्लै हिड्न नसकिने अवस्था आएको हो ? भनेर गृहमन्त्री नारायणकाजि श्रेष्ठलाई प्रश्न गरे ।

महामन्त्री थापाले भने, ‘कोहि जलाइदिन्छु भन्छ, कोहि खुकुरी हान्छ । हामी एक्लै हिड्न हुने हो कि नहुने हो ? म प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु । संविधानसभा सदस्य भएको व्यक्ति सार्वजनिक कार्यक्रमबाट फर्किएर आउँदा खुकुरी प्रहार हुँदा उहाँहरूलाई पोल्नुपर्छ कि पर्दैन ? बोलेकै आधारमा सांघातिक आक्रमण गरेर जायज ठहराउन सक्छ ।’

बुधबार दिउँसो रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा कांग्रेस सहमहामन्त्री यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए । यादवकोे ट्रमा सेन्टरमा उपचार भइरहेको छ । आक्रमणकारी सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष