बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत
काठमाडौं । स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पारेका छन् ।
इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै केही दिन पहिले कान्ति बाल अस्पतालमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारबाही हुने बताए।
उनले भने, ‘उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ ।’
मन्त्री बस्नेतले इजिप्टको कायरोमा सम्पन्न सम्मेलनमा जनसङख्या बसाइँसराइँ र अव्यवस्थित बसोबासका कारण स्वास्थ्य क्षेत्रमा परिरहेको समस्या र ती समस्या समाधानका उपायहरुका विषयमा वृहत छलफल भएको समेत जानकारी दिए ।
जनसङ्ख्या र स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्दै एकैसाथ अघि बढाउन सकिए अन्य क्षेत्रको पनि विकास हुने उनको भनाइ छ । इजिप्टका स्वास्थ्य मन्त्रीले यसको आवश्यकतालाई ध्यानमा राखेर अर्को वर्ष पनि यो कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।
सम्मेलनमा सहभागी हुन आउनुभएका विभिन्न देशका स्वास्थ्य मन्त्रीहरु, दातृ निकायका प्रतिनिधि र राजनीतिक नेतृत्वहरुसँग आफूले भेटघाट गरेर रणनीतिक विषयमा छलफल भएको मन्त्री उनले जानकारी दिए । आगामी महिना हुने विश्व स्वास्थ्य सङगठन (डब्लूएचओ) को दक्षिण पूर्वि एशिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बनेका नेपालका जनस्वास्थ्य विज्ञ डा शम्भु आचार्यका पक्षमा नेपाल सरकारको प्रतिनिधिका रुपमा र स्वास्थ्य मन्त्रीका हैसियलले सरोकारवाला देशका स्वास्थ्य मन्त्रीहरुसँग लबिङ गरेको उनले जानकारी दिए ।
इजिप्टको राजधानी कायरोमा यही भदौ १९ देखि २२ गतेसम्म जनसङख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मन्त्री बस्नेत गत सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया