NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बैठक चल्दाचल्दै महानिर्देशकको पद चैट !

काठमाडौं । “सरोकारवालालाई बोलाएर छलफल गरिरहेका महानिर्देशको पद चैट !”

शीर्षक सुन्दा आश्चर्य र अनौठो लाग्न सक्छ । तर  उपभोक्ता हितका लागि खडा गरिएको आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरको हकमा मंगलबार यस्तै भयो ।

उपभोक्ताबाट वस्तुहरूको गुणस्तरबारे धेरै गुनासो आएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले मंगलबार आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक ठाकुरसहित उपभोक्ता अधिकारकर्मीलगायत सरोकारवालालाई छलफलका लागि बोलाएको थियो ।

प्रधानमन्त्रीमन्त्रीको सचिवालयबाट निकै कर गरिएकाले आफू पनि उक्त बैठकमा सामेल हुन गएको उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले बताए । उनका अनुसार, बैठकमा सरोकारवालाले बजार अवस्थाबारे धारणा राख्दै यसको नियन्त्रण निम्ति चाल्नुपर्ने कदमबारे सुझाएका थिए । विभागका महानिर्देशक गजेन्द्र ठाकुरले विशेष अनुगमनको लिखित कार्ययोजना नै प्रस्तुत गरेका थिए । तर उक्त बैठक सकेर बाहिर आउँदा ठाकुर सरुवाको समाचार सञ्चार माध्यममा आइसकेको थियो ।

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले महानिर्देशकको लिखित कार्ययोजना सुनेर बाहिर निस्किनेबित्तिकै सरुवाको खबर पाएको र थाहा पाउँदा चकित परेको बताए । उनले आफूहरूलाई बेफकुफ बनाएको भन्दै सामाजिक सञ्जालमा आक्रोससमेत पोखेका छन् ।

‘आज प्रधानमन्त्रीज्यूको सचिवालय समूहले बजारमा उपभोक्ताको धेरै गुनासो आयो, नियमित बजार अनुगमनले पुगेन । विशेष अनुगमन आवश्वयक पर्‍यो उपभोक्ता हित संरक्षण मञ्चसमेत सरोकारवाला छलफलका लागि आइदिनु पर्‍यो भनियो,’ बानियाँले फेसबुकमा लेखेका छन्, ‘हामीले आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र त्यसका महानिर्देशक गजेन्द्र ठाकुरको समूहले हैसियत अनुसार काम गरेकै छ । उहाँसग अझै समन्वय सहकार्य होस् । हामी पर्दैन भन्यौं । आज पनि त्यहाँ आउने अवस्था छैन मञ्च प्रतिनिधि उपमहासचिव कुमारी खरेलजी आउँनुहुन्छ भनियो । तर प्रधानमन्त्रीको विशेष चासो तथा सक्रियता भएको भनिएको र मञ्चको जिम्मेवारीको कारणले बैठकमा जाने अवस्था नभए पनि अनुरोध टार्न नसकेर सहभागी भइयो । विभागका महानिर्देशक गजेन्द्रजीले विशेष अनुगमनको कार्ययोजना लिखत रूपमा पेश गर्दै हुनुहुन्थ्यो । अन्य विभागका महानिर्देशकहरू तथा निर्देशक सहित हामी केहि घन्टा प्रधानमन्त्रीको विशेष चासो र सक्रियतामा हुने आकस्मिक बजार अनुगमनसम्बन्धी विषयमा केही गम्भीर छलफल भए । इच्छाशक्ति भए गरेर देखाउन भनियो । बैठक सकेर बाहिर आउँदा त गजेन्द्र ठाकुरजीको महानिर्देशक पद चट भइसकेको रहेछ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५ जना सहसचिवको जिम्मेवारी हेरफेर तथा अन्तरमन्त्रालय सरुवा गर्दै ठाकुरलाई आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखामा पजनी गरेको हो । ठाकुरको स्थानमा तीर्थ चिलुवालाई पठाइएको छ । चिलुवाल उद्योगमा आउनुअघि अख्तियारमा थिए । उद्योगमा सरूवा भएका उनलाई विभागकाे जिम्मेवारी दिइएकाे हाे ।

ताजा अपडेट

नेपालवाच विशेष