शेर्पा सारथी टीटी टायरको बिक्री वितरण सुरु
काठमाडौं । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने ९.००-२० र १०.००-२० साइजका शेर्पा सारथी टीटी टायरको बिक्री वितरण प्रारम्भ गरेको छ ।
नाडा अटो शो २०२३ को शुभारम्भको अवसरमा एक कार्यक्रमबीच अर्थमन्त्री डा. प्रकाश शरण महतले औपचारिक रुपमा सो टायर सार्वजनिक गरेका हुन् । विशेष गरी ट्रली तथा ट्रयाक्टर ट्रलीमा प्रयोग हुने टायरहरु मोटो गोटी तथा लाइन गोटीमा १८ प्लाई रेटिङमा उपलब्ध छन् ।
उच्च गुणस्तरीय हेभी ड्युटी ती टायरमा कट रेसिस्टेन्स क्षमता भएकाले नेपाली माटो तथा बाटोका लागि उपयुक्त भएको कम्पनीका निर्देशक विकास सिंघानियाले जानकारी दिए ।
यी टायर तुलनात्मक रुपमा सस्तो, सुलभ र गुणस्तरीय भएकाले बजार मागको ठूलो हिस्सा ओगट्ने विश्वास सिंघानियाले व्यक्त गरे । करिब ५ वर्ष पहिले स्थापित निजी क्षेत्रको पहिलो टायर उद्योग ग्रिन टायर प्रालिले मोटरसाइकल, स्कुटर, अटो, टेम्पु तथा ट्रयाक्टरका टायरहरु यस अघि नै बजारमा बिक्री-वितरण गर्दै आइरहेको छ ।
हाल कम्पनीले वार्षिक १ लाख थान टायर उत्पादन गर्दै आएको र सय जना कामदारले प्रत्यक्ष रोजगारी दिएको छ ।


प्रतिक्रिया