सिडिओविरुद्ध शौचालयमा हस्ताक्षर अभियान !
पण्डित भन्छन्–यसबारे मलाई थाहै छैन !

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ललितपुरको सार्वजनिक शौचालय । शौच क्रियाका लागि त्यहाँ आएका हरेकको नजर हिजोआज भित्तामा लेखिएको एउटा लेखोटमा झ्वास्सै पर्छ ।
लेखिएको छ– यस कार्यालयको शौचालय सफा राख्न नसक्ने सिडिओ मुर्दावाद ! फोहोरी सिडिओ मुर्दावाद ! सहमत हुनेले हस्ताक्षर गरौं ।’
उक्त लेखोटमा चित्त बुझ्ने खल्तीबाट कलम झिक्छन् र हस्ताक्षर गर्छन् । केहीले चाहिँ आक्रोस मत्थर नभएर होला छोटो वाक्य लेखेर आक्रोस पोखेका छन् ।
जिल्ला प्रशासनको शौचालयमा केही दिनदेखि यस्तो अनौठो गतिविधि चलिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरको शौचालय दुर्गन्धित भएपछि सुरुमा सेवाग्राहीले सरसफाइका लागि कर्मचारीलाई अनुरोध गरेका थिए । तर कसैले सुनेनन् । शौचालय सफाइ गर्ने मामुली विषयमा प्रशासनले लगातार उदासीनता प्रकट गरेपछि सेवाग्राहीले विरोधको यस्तो अनौठो शैली अपनाएका हुन् ।
यो अभियान कसले चलाएको भन्ने खुलेको त छैन । तर जसले गरेको भए पनि यसको एउटै उद्देश्य शौचालय सफाइका लागि दबाब बढाउनु देखिन्छ ।
सुरुको दिनमा त्यसमा १० जनाले हस्ताक्षर गरेका थिए । त्यसमा अहिले कैयनले ऐक्यबद्धता जनाइसकेका छन् । यदि त्यहाँ पुग्नुभयो भने तपाईंले पनि हस्ताक्षर गर्नुहुन्छ होला किनकि, शौचालय यति दुर्गन्धित छ कि शौच क्रिया त परै जाओस्, वरिपरि जानसम्म सकिन्न । एक सेवाग्राहीले शौचालयको हविगत देखेर आफू बाहिरैबाट फर्किएको बताए ।
एक सेवाग्राहीले चाहिँ हस्ताक्षरले मात्र धित नमरेर ‘लाजको पसारो’, ‘भ्रष्टाचारको पराकाष्ठा’ भनेर त्यसमाथि प्रतिटिप्पणी लेखेका छन् ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरले सेवाग्राहीका लागि व्यवस्था गरिएको शौचालय फोहोर भएको स्वीकार गरेको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले शौचालय एक साता यता फोहोर रहेको बताए । शौचालय मर्मतका क्रममा रहेकाले फोहोर हुन पुगेको उनको भनाइ छ ।
‘जाम भएर यस्तो अवस्था आएको हो । लागत स्टिमेट भइसकेको छ । मर्मत गर्न लागेको भएर रोकिएको हो,’ प्रमुख जिल्ला अधिकारी पण्डितले भने, ‘पाँचदेखि ७ दिन भयो होला, योबीचमा हामीले स्टिमेटका काम गर्न लागेका थियौँ । अब हामी तुरुन्तै शौचालय प्रयोगमा ल्याँउछौँ ।’
भित्तामा यस्तो लेखिए पनि प्रजिअ पण्डित यसबारे अनभिज्ञ छन् । उनले यसबारे आफूलाई थाहा नभएको नेपालवाचलाई बताए ।
‘यो कुरा तपाईंले भनेपछि भर्खंरै थाहा पाउँदैछु । शौचालयमा यसो गर्नुभन्दा पनि मसँग आएर उहाँले सिधै कुरा गरेको भए हुन्थ्यो,’ उनले भने ।
हेर्नुहोस् शौचालयको भित्ता
ताजा अपडेट
-
माओवादीप्रति जनताको विश्वास बढ्यो, ०८४ मा ०६४ फर्काउँछौं : प्रचण्ड
-
कुलमानदेखि युवराज अधिकारीसम्मका व्यक्तिविरुद्ध अनुसन्धान गर्दै लेखा समिति
-
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
-
सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले छुट दिने
-
सामसङको नयाँ स्मार्टफोनको प्रि-अर्डर गरी पाउनुहाेस् विशेष अफर
प्रतिक्रिया