NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ पिपुल अफ कंग्रेसका अध्यक्षबीच भेटवार्ता

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ पिपुल अफ कंग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच यहाँको ग्रेटहल अफ दि पिपलमा भेटवार्ता भएको हो । सो अवसरमा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल–चीन सम्बन्धका विविध आयाममाथि प्रकाश पारे । उनले नेपाल–चीन सम्बन्ध सन् १९५५ मा औपचारिकरूपमा स्थापना हुनुभन्दा पहिले पाँचौँ शताब्दीमा नै नेपाली बौद्ध भिक्षु बुद्ध भद्रले चीन भ्रमण गरेदेखि नै सुरु भएको उल्लेख गरे ।

उनले यस भ्रमणका क्रममा आफ्नो प्रधानमन्त्रीको हैसियतमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भई नयाँ समझदारी निर्माण गरेको आफूले महसुस गरेको बताए ।

प्रधानमन्त्री दाहालले यस पटकको भ्रमण फलदायी भएको र दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । उनले ‘एसियन गेम्स’ को सफलतापूर्वक आयोजना गरेकोमा चीनलाई बधाई ज्ञापन गरे ।

त्यसैगरी अध्यक्ष चाओले दुई देशबीचको सम्बन्ध समानता आधारित रहेको चर्चा गर्दै नेपाल–चीन पञ्चशिलतामा आधारित परराष्ट्र नीतिलाई सम्मान गर्ने स्पष्ट पारे। चिनियाँ राष्ट्रपति सि चिनफिङले यस भ्रमणलाई महत्व दिएको र यस भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ भएको उनले बताए ।

अध्यक्ष चाओले नेसनल पिपल अफ कंग्रेस र नेपालबीचको सम्बन्ध विस्तार र सहकार्य गर्न सदैव तयार रहेको उल्लेख गरे ।