NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

फुटपाथ व्यवसायीको व्यवस्थापन महानगरकोमात्रै जिम्मेवारी हैन : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिला डंगोलले फुटपाथ व्यवसायीको व्यवस्थापन गर्ने काम महानगरको मात्रै नभएको बताएकी छिन् । यसको दिगो समाधानका लागि केन्द्रीय सरकारको मुख्य भूमिका हुनैपर्ने पनि स्पष्ट पारेकी छिन् ।

फुटपाथ व्यवासायी काठमाडौंमामात्रै नभएर देशका विभिन्न शहरमा भएकाले उनीहरूको व्यवस्थापनका लागि केन्द्रबाट नै नीति नियम बन्नुपर्ने धारणा उनले राखेकी हुन्।

सार्वजनिक मञ्चमा बोल्दै उनले भनिन्, ‘सडक व्यवसायीको कुरा काठमाडौं महानगरपालिकाकोमात्रै समस्या पक्कै पनि हैन ।’

केन्द्रीय सरकारलाई उनले यो समस्यालाई विशेष महत्त्वका साथ हेर्न र नीति नियम निर्माण गर्न जोड दिएकी छिन् । ‘राज्यबाट नै नीति नियम बनाइयोस् जसले गर्दा महानगरमात्रै नभएर देशैभरीको शहरमा पनि एकीकृत हिसाबले कसरी व्यवस्थापन गर्ने भन्ने मार्गदर्शन बन्न आवश्यक छ,’ उनले भनिन्, ‘त्यसमा महानगरपालिकाले आवश्यक सहयोग गर्न सदैव तत्पर छ । म आफैंले पनि मन्त्रीज्यूहरूसँग अनौपचारिक भेटघाट भइरहँदा यो विषय उठाउँदैै पनि आएकी छु ।’

यो समस्या समाधानका लागि केवल एउटा महानगर या शहरमात्रै केन्द्रीत भएर नपुग्ने उनको विचार छ । दिगो रूपमा समस्याको समाधानतिर लाग्न उनको सुझाव छ ।

हाल महानगरको कार्यालयअघि ईःलगायतका अभियन्ताले फुटपाथ व्यवसायीको उपयुक्त व्यवस्थापनको मागसहित उभिएर विरोध जनाउँदै आइरहेका छन् । उनीहरू र मेयर बालेन शाहबीच वार्ता हुन सकिरहेको छैन ।