हुम्लामा कुहिएको चामल बिक्री

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका-५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ ।
केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो । नाम्खा-५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको बताए । एक घरधुरीलाई चार बोराका दरले बिक्री गरिएको थियो । उनले त्यसमा दुई बोरा चामल कुहिएको भेटिएको बताए ।
उनले आफ्नो मात्र नभई अधिकांश खाद्यान्न पाएका घरपरिवारको कुहिएको चामल डल्लैडल्ला परेको भेटिएको बताए। पच्चीस किलोको बोरा चामलको मूल्य रु दुई हजार तीन सय ७५ मा किनेको र घरमा चामलको बोरा खोल्दा कुहिएको पाइएको स्थानीय जङ्ग लामाले बताए । ‘पैसा तिरिसकेका छौँ, चामल कुहिएर डल्ला परेको भेटिएको छ’, उनले भने ।
करिब ५० घरधुरीका नागरिकले चामल बिक्री गरिएकामा अधिकांश बोरा कुहिएको भेटिएको स्थानीयको गुनासो छ । मुचुगाउँमा लिमिटेडले बिक्री गरेको चामल कुहिएर खान नमिल्ने भएपछि बोरा खोलेर घाममा सुकाउने गरिएको छ । घरको छतमा त्रिपालमा चामलको बोरा खोलेर सुकाउँदा पनि खान नमिल्ने खालको रहेको छ ।
हिल्सा नाकामा चामल राख्ने गोदाम नहुँदा केही बोरा चौरमा पालले छोपेर राख्ने क्रममा पानी पर्दा भिजेका कारण कुहिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए ।
काठमाडौँ-केरुङ हुँदै तिब्बती मार्गबाट हिल्सा नाकाबाट चार हजार क्विन्टल खाद्यान्न ढुवानी भएको थियो । त्यसमा एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि छुट्याइएको थियो ।
यस्तै तीन हजार क्विन्टल खाद्यान्न सिमकोट शाखामा आएको उनले बताए । उनले कुहिएको खाद्यान्न फिर्ता गरेर राम्रो चामल दिने व्यवस्था गरिने बताए । खाद्यान्न कुहिएको भए पैसा फिर्ता दिने पनि उनले बताए । सो कुहिएको खाद्यान्न भने राम्रोसँग राख्न उनले आग्रह गरे ।
ताजा अपडेट
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
प्रतिक्रिया