NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

‘मानसिक समस्या देखिए सहयोग लिन नहिच्किचाउ’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक स्वास्थ्य समस्या देखिए सहयोग लिन हिच्किचाउननु नहुने बताएका छन् ।

आज विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा जारी सन्देशमा उनले मानसिक स्वास्थ्य समस्यालाई सामाजिक कलङ्कका रुपमा लिन र  भेदभाव गर्न नहुने बताएका हुन्। मन्त्री बस्नेतले मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउँदै यसको सेवालाई सर्वसुलभ बनाउन सरोकारवाला सबैलाई अपिलसमेत गरे ।

‘मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउँदै मानसिक स्वास्थ्यसँग जोडिएका भेदभावपूर्ण व्यवहार र कुरीतिहरु सम्बोधन गर्न बहुक्षेत्रीय तथा बहुपक्षीय सरोकारवालाहरुबीच निरन्तर समन्वय र सहकार्य गर्दै मानसिक स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने कार्यमा हातेमालो गर्न अपिल गर्दछु’, उनले भने।

मन्त्री बस्नेतले सबै व्यक्तिलाई मानसिक स्वास्थ्यको जोखिमबाट जोगाउँदै यसबाट सुरक्षित राख्न र सेवा सबै नागरिकको पहुँचमा पु¥याउनु आजको आवश्यकता भएको बताए।

मानसिक स्वास्थ्यका कारण सामाजिक र आर्थिक क्षेत्रमा पनि ठूलो असर पुग्ने भएकाले यसमा थप लगानी तथा स्रोत जुटाउन सरकारले प्राथमिकता दिएको उनले जनाए । मन्त्री बस्नेतले नेपालीलाई लाग्ने रोगको भारमध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको उल्लेख गरे ।

पछिल्लो अध्ययनअनुसार नेपालमा १८ वर्षमाथिका व्यक्तिहरुमध्ये दस प्रतिशतलाई मानसिक स्वास्थ्य समस्या देखिएको छ । मानसिक स्वास्थ्य समस्याबाट सताइएका किशोरकिशोरी र युवाहरुको सङ्ख्या दिनप्रतिदिन बढेकामा चिन्ता प्रकट गर्दै मन्त्री बस्नेतले स्वस्थ्य रहन आहारविहार एवं नियमितरुपमा व्यायाम गर्न, द्युमपान, मद्यपान तथा लागुपदार्थ सेवन नगर्न र पर्याप्त निन्द्राजस्ता जीवनशैली अपनाउन आग्रह गरे  ।

‘स्वस्थ्य व्यक्तिको तुलनामा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको दशदेखि २० वर्षअगावै मृत्यु हुने तथ्याङ्कले देखाएको छ’, उनले भने,  ‘सहयोग लिन नहिच्किचाउनुस्, परामर्श लिउ र लिन सहयोग गरौँ । कतिपय अवस्थामा यसलाई सामाजिक कलङ्कका रुपमा लिने गरिन्छ । यदि आफूलाई तनाव छ वा मानसिक स्वास्थ्यमा समस्या देखिएमा सहयोग लिन नहिच्किचाउ, समयमै मनोचिकित्सक वा मनोविद्सँग परामर्श लिऔँ  र अरूलाई पनि परामर्श लिनका लागि सहयोग गरौँ ।’