NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

मासुको उचित भण्डारण गर्दैनन् व्यवसायी

गलकोट । मासु तथा मासुजन्य पदार्थ उपभोगका लागि संवेदनशील मानिन्छ । मासुबाट रोग सर्ने सम्भावना बढी भएकाले मासु पसलको आफ्नै तापक्रम, मापदण्ड र सरसफाइ हुनु जरुरी छ ।

बागलुङमा मासु पसलहरुले उचित मापदण्ड पूरा नगरी मासुको बिक्री वितरण गरेको पाइएको छ । उचित मापदण्डमा नचल्दा मासु पसलहरुको मनोमानीका कारण उपभोक्ताको स्वास्थ्यमाथि खोलबाड भइरहेको मासु पसलहरुको अनुगमनका क्रममा पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र पर्यटन तथा घरेलु उद्योग कार्यालयले संयुक्त रुपमा बजार अनुगमन गर्ने क्रममा मासु पसलहरुले उचित सरसफाइ नगरेको, मासु भण्डारण उचित तापक्रममा नगरेको र मासुलाई बाहिर राखेर बिक्री वितरण गरेको पाइएको छ ।

मासु भण्डारण फ्रिजलाई रातको समयमा बन्द गरिएको, आवश्यक तापक्रम पूरा नभएको, मासु पसलको सरसफाइ नगरेको, कानुनी प्रक्रिया पूरा नगरी मासु पसल सञ्चालन गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

उनका अनुसार चाडपर्वको समयमा हुनसक्ने कालोबजारी, स्वास्थ्यमाथिको खेलबाडलाई नियन्त्रण गर्न मासु पसलको समेत अनुगमन गरिएको र अनुगमनका क्रममा केही मासु पसल राम्रो भए पनि अधिकांश मासु पसलहरु भने मापदण्डअनुसार नचलेकाले केही मासु पसललाई सचेत बनाइएको तथा केहीलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

‘मासु भण्डारण गरेको फ्रिजमा विद्युत् नलगाइएको, पसलमा खुल्ला रुपमा मासु राखिएको, भुइँमै मासु राखिएको, फोहोरजन्य मासुहरुको उचित व्यवस्थापन नगरिएको पाइएको छ’, बरालले भने, ‘मासुजस्तो संवेदनशील खाद्यपदार्थलाई समेत व्यापारको नाममा लापरबाही गरेको पाइयो, केही मासु व्यापारीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर स्पष्टीकरण लिएका छौँ, केहीलाई दर्ता गर्नका लागि नगरपालिकामा पठाएका छौँ ।’

मासुलाई ऋणात्मक १० देखि १८ डिग्री सेल्सियमा भण्डारण गर्नुपर्ने भए पनि बागलुङका अधिकांश मासु पसलहरुमा मासु भण्डारणका लागि राखिएको फ्रिजको तापक्रम नपुगेको पाइएको छ ।

मासु पसलका लागि भित्ता, भुइँ लगायतमा टायल राख्नुपर्ने मापदण्ड भए पनि कतिपय मासु व्यवसायीहरुले नराखेको पाइएको छ । खुल्ला रुपमा मासु बिक्री गर्न नपाइने र उपभोक्ताले मासु खरिद गर्न आएपछि मात्र फ्रिजबाट मासु बाहिर निकाल्नुपर्ने भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले बताए ।

चाडपर्व नजिकिएसँगै मासुको व्यापार बढी हुने भएकाले मासु पसलहरुको अनुगमनलाई तीव्रता दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य प्राविधिक सहन्सकुमार मेहताले बताए । मेहेताका अनुसार मासु चिसो भए पनि उचित तापक्रम नपुग्दा अस्वस्थ्यकर हुने बताउँदै बागलुङका मासु व्यवसायीहरुलाई मासु भण्डारणका लागि प्रयोग गरिएको फ्रिजको विद्युत् निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ ।

‘मासुलाई खुल्ला राखेर बिक्री गरेको पाइयो, झिँगा भन्केको मासु बिक्री गर्दै गरेको र भुइँमा समेत मासु राखेको पाइयो’, मेहताले भने ‘अधिकांश मासु पसलहरुले मापदण्ड पूरा नगरेको र उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको पाइयो ।’

अनुगमनका क्रममा आधा दर्जन मासु पसलहरु बिनादर्ता सञ्चालनमा आएको पाइएको छ । दर्ता नभएका मासु पसलहरुलाई मापदण्ड पूरा गरी दर्ता गर्न नगरपालिकामा बोलाइएको नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत सरस्वती रेग्मीले बताइन् ।