NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

ग्रामीण क्षेत्रमा सडक विस्तार भएसँगै चामल लिन सहर पस्नुपर्ने बाध्यता हट्यो

ढोरपाटन । पश्चिम बागलुङका उच्च ग्रामीण क्षेत्रमा आलु, जौ, उवा, भाँगोबाहेक अरू खेती कमै हुन्छ । तीन दशकसम्म स्थानीयको मुख्य खाना आलु र जौको आटा हुन्थ्यो । चिसो हावापानी हुने भएकाले यहाँको माटोमा धान खेती हुँदैनथ्यो ।

‘धान खेती नहुँदा स्थानीय भात खान दसैँ कुर्थे । गाउँमा सडक थिएन । मोटर गाडी देख्नका लागि दुई साता लगाएर बुटवल पुग्नुपथ्र्यो । बुटवल पुगेर घ्यू, आलु र भाँगोसँग चामल साट्ने बाध्यता थियो’, ढोरपाटन–९ की ८३ वर्षीया पदमकली विकले भने ।

उनका अनुसार अहिले गाउँगाउँमा सडक विस्तार भएसँगै चामल भित्रिन थालेकाले बाध्यता हटेको छ । दसैँमा मात्रा भात खाने स्थानीयको भान्छामा अचेल दिनहुँ पाक्ने गरेको उनको भनाइ थियो ।

पछिल्लो समय गाउँगाउँसम्म सडक पुगेपछि घरघरमा चामलका बोरा पुग्छन् । सडकले गाउँमा चामल मात्र ल्याएन, गाउँलेको दैनिकीमा नै परिवर्तन ल्याएको विकले बताए । उनका अनुसार बागलुङको निसीखोला, ढोरपाटन र तमानखोलाका माथिल्लो क्षेत्रमा बसोबास गर्ने अधिकांशले अहिले पनि बजारबाट चामल ल्याएर भात खान्छन् ।

विकसँग आफ्नो जीवनकालमा १४ पटक बुटवलबाट चामल र नुन ल्याएर उपभोग गरेको अनुभव छ । ढोरपाटनबाट ११ दिनको पैदल यात्रा गरेर बुटवल पुगेको सुनाउँदै आजभोलि गाउँघर नै बुटवल बन्न थालेको उनले सुनाए । बेँसीमा पनि धान फल्न थालेपछि चामलको समस्या नहुने उनको भनाइ थियो ।

‘जुग जमाना फेरिए । गाउँ पनि बजार बन्न थाल्यो । हामीले सानोमा कहिल्यै भात खान पाएनौँ । अल्ली ठूलो भएपछि दसैँमा भात खान पायौँ । अहिले त दिनदिनै भात खान्छौँ । हाम्रो गाउँठाउँमा चामल (धान) फल्दैन ।

आलु र जौको आटा खाएर हुर्किएका हौँ’, विकले भने, ‘उतिबेला गाउँ घरमा दोकान थिएन । सडक पनि आएका थिएनन् । अहिले त दिनदिनै गाडीले बजारबाट चामल र अन्य आवश्यक सामान ल्याउँछन् । गाउँको विकास भएकाले नै यो सम्भव भएको हो ।’

स्थानीय निमबहादुर पुनले डेढ दशक अगाडिसम्म पनि आलुसँग चामल साटेर भात खाने गरेको सुनाए। पछिल्लो समय गाउँघरसम्म चामल बेच्ने पसल सञ्चालनमा आएपछि कोही पनि स्थानीय भात खानबाट वञ्चित नभएको उनको भनाइ थियो । ७४ वर्षीय पुनले आफूहरु निकै दुर्गम ठाउँमा हुँदा बाल्यकालमा भातको निकै महत्व हुने गरेको बताए ।

लेकबेँसी गरेर पशुपालन गरेरै जीविका चलाउँदै आएको सुनाउँदै अहिले एक बोरा आलु बेचेर पनि चामल किन्न सकिने उनको भनाइ थियो । ‘हामी त बाउबाजेकै पेसालाई अँगालेर सानैदेखि गाईभैँसी र भेडाबाख्रा पाल्नतिर लागियो । लेकमा बस्ने, आलु र जौको आटा, दूध, मही खाने गरियो । भात खान पाउँदा निकै खुसी लाग्थ्यो । त्यसबेला चामलको निकै महत्व थियो । तर अहिले त्यत्ति छैन’, पुनले भने, ‘अहिले त हामी लेकमा जाँदा चामल बोकेर जान्छौँ । उता पनि भात पाक्छ । कति बेला त हामीलाई पनि अचम्म लाग्छ, हाम्रो ऊ बेलाको अवस्था सम्झिँदा ।’

बागलुङमा हरेक वर्ष धान उत्पादन गर्ने क्षेत्रफल बढ्दै गएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष क्षेत्रफल बढेर छ हजार हेक्टरमा रोपाइँ भएको छ ।

जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ ।

खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको केन्द्रले जनाएको छ ।

पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिन बाझिँदै गएका स्थानीय बताउँछन् । गाउँमा प्रशस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै राख्नुपरेको कृषकको गुनासो छ । मकै र कोदो उत्पादन गर्ने क्षेत्रफल घटे पनि धान उत्पादन भने बढिरहेको ज्ञान केन्द्रले जनाएको छ ।