सोनामाई मन्दिरमा तान्त्रिक मेला
महोत्तरी । यहाँको प्रसिद्ध शक्तिपिठ सोनामाई मन्दिरमा तान्त्रिक मेला सुरु भएको छ ।
औरही नगरपालिका–७ भोइलस्थित सो मन्दिरमा नवरात्रको पाँचौँ दिन परम्पराअनुसार आज तान्त्रिक मेला सुरु भएको हो । स्थानीयबासी यसलाई ‘भूतमेला’ पनि भन्ने गर्दछन् ।
नवरात्रको पञ्चमीदेखि नवमी तिथिभर रहने यो मेलामा दुष्टात्माबाट सताइएका भक्तजनले देवीसँग कष्ट निवारणका लागि पुकार्छन् । यसरी पुकारेपछि दुष्टात्माले छोड्ने विश्वास गरिन्छ ।
वर्षौंदेखि भूत, पिसाच, जादुटुनाको कुचक्र र बोक्साबोक्सीबाट सताइएर जीवन र मृत्युको दोसाँधमा परेका मानिस मन्दिर सीमाक्षेत्रमा प्रवेश गरेलगत्तै भुईमा लडिबुडी गर्ने, रुने, हास्नेजस्ता असमान्य गतिविधि देखाउने र मुख्य मन्दिरमा पुगेपछि सोनामाईको कृपाले निको भएर घर र्फकने गरेका मन्दिरका मुख्य पुजारी केदार झा बताउँछन् ।
पञ्चमीदेखि नवमीसम्म आयोजना गरिने यो मेलामा मधेश प्रदेशभरिकै र छिमेकी भारतको सीतामढी, मधुवनी, चम्पारन, शिवहर र मुजफ्फरपुर जिल्लाका भक्तजनको पनि यहाँ घुइँचो लाग्ने गरेको छ । यो तन्त्र साधनाका लागि उपयुक्त अवसर पनि मानिन्छ ।
कति तन्त्रमन्त्र, टुनामुना सिक्न चाहने व्यक्ति पनि यहीँ नै गुरु थापेर यो विधिको अभ्यास पनि गर्छन् । यहाँ तन्त्रसाधना गराउने गुरुले मानवहितलाई सर्वोपरी राखेर साधना गर्न सिकाउने पुजारी झाको भनाइ छ ।
सोनामाई शक्तिपीठमा दर्जनौँ धामीझाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् भने यस अवधिमा माता दुर्गा यहाँ प्रत्यक्ष विराजमान भएर पीडितको कष्ट निवारण गर्नुहुने मान्यता रहेको उनको भनाइ छ ।
माताको दरबारमा एक पटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि यस्तो असर नपर्ने जनविश्वास रहेको छ । मेलाको पारम्पागत र सांस्कृतिक महत्व भए पनि भूतमेलासँग जोडिएर आउने बोक्साबोक्सी र कथित दुष्टात्माको कुरा भ्रममात्र भएको नयाँ पिँढीका युवा बताउँछन् ।
बडादसैँ पर्वमा देवी दुर्गाको महत्व उजागर गर्नु र मातृसत्ताप्रति श्रद्धाभाव जगाउनु उन्नत संस्कार भए पनि यससँग जोडेर भूतप्रेत, बोक्साबोक्सीजस्ता अन्धविश्वासको पछि लाग्न नहुने र मेलाको यो पक्षलाई परिस्कार गरिनपर्नेमा भङ्गाहा–४ का युवा रामईश्वर ठाकुर जोड दिनछन् ।
ताजा अपडेट
-
सुनचाँदीको मूल्यमा वृद्धि
-
स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’
-
विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट


प्रतिक्रिया