जाजरकोटमा कार्यालय प्रमुखसहित एक सय ३१ कर्मचारी अनुपस्थित
जाजरकोट । जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका एक सय ३१ कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।
स्थानीय प्रशासनले गरेको अनुगमनका क्रममा १० कार्यालयका कार्यालय प्रमुखसहित आधाभन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । प्रजिअ सुनारका अनुसार अनुगमन गरिएका १३ कार्यालयमध्ये तीन वटा कार्यालय प्रमुख मात्र कार्यालय उपस्थित थिए । स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा प्रतीक्षा भारती, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र मालपोत कार्यालयका प्रमुख डिल्लीबहादुर केसीमात्र कार्यालय प्रमुखको रुपमा कार्यालयमा भेटिएको तर अन्य १० कार्यालय प्रमुख हाजिरी रजिष्ट्ररमा बिदा नै नजनाइ अनुपस्थित रहेका थिए ।
स्वास्थ्य सेवा कार्यालय, वन डिभिजन कार्यालय, भेरी नगरपालिका, जिल्ला हुलाक कार्यालय, बृहत् जलाधार कार्यालय, सिँचाइ तथा नदी नियन्त्रण कार्यालय, खानेपानी, ऊर्जा तथा सिँचाइ कार्यालय, सामाजिक विकास कार्यालय, पूर्वाधार विकास कार्यालय, नापी कार्याय, भेरी करिडोर सडक आयोजना, मालपोत कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा छड्के गरिएको थियो । तीमध्ये सबैभन्दा धेरै स्वास्थ्य सेवा कार्यालयमा ३७ जना र त्यसपछि भेरी नगरपालिकामा २७ जना कर्मचारी अनुपस्थित थिए । दसैँ मनाउन घर गएका धेरैजसो कर्मचारी कार्यालयमा नफर्केपछि सेवाग्राही मर्कामा परेका छन् । दसैँ बिदापछि गत शुक्रबार नै कार्यालय खुलेपनि हालसम्म आधाभन्दा बढी कर्मचारी अझै कार्यालय आइपुगेका छैनन् । सरकारी कर्मचारीलाई नागरिकप्रति उत्तरदायी र जिम्मेवार हुन प्रजिअ सुनारले आग्रह गरे ।
उनले दसैँ मनाउन घर गएका कर्मचारीलाई बिदा वा काजको बहानामा उतै नबस्न र तत्काल कार्यालयमा उपस्थित भई काम गर्न निर्देशन दिए। छड्केमा गएको स्थानीय प्रशासनको टोलीले अनुपस्थित कार्यालय प्रमुख र कर्मचारीको हाजिरीमा रातो चिह्न लगाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया