NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सुदूरपश्चिममा औलोका बिरामी घटे

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा औलोका बिरामी घटदै गएका छन् । औलोका रोगीको उपचार तथा व्यवस्थान स्थानीय तहसम्म पु-याइएका कारण बिरामीको सङ्ख्या घटेको हो ।

दीपायलस्थित सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म औलाका ५३ बिरामी फेला परेकोकामा आयातित बिरामीको सङ्ख्या ४८ रहेको छ ।

स्थानीय बिरामी पाँचजना मात्रै फेला परेका छन् । सबैभन्दा खतरनाक मानिने प्लाज्मोडिएम फाल्सिपारम परजीविबाट सातजना संक्रमित भएका छन् । तीमध्ये आयतित बिरामी छ र स्थानीय एकजना रहेका छन् ।

प्लाज्मोडियम भाइभ्याक्सले मन्द किसिमको सङ्क्रमण गराउने भए पनि प्लाज्मोडिएम फाल्सिपारमका कारणले बिरामीको सबैभन्दा बढी ज्यान गएको पाइन्छ । लामखुट्टेको टोकाइबाट औलो लाग्ने गर्दछ ।

यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ । ती परजीविलाई पोथी एनफिलिज लामखुट्टेले एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने गर्दछ । भारतमा रोजगारी गरेर फर्कनेहरुमा औलोको सङ्क्रमण बढीे देखिएको छ ।

भारतमा असुरक्षित तरिकाले बस्ने र फर्कदा औलाका जीवाणु बोकेर फर्कने भएकाले औलो नियन्त्रण गर्न चुनौती भएको निरीक्षक जोशी बताउँछन् । उनका अनुसार औलोका ८० देखि ९० प्रतिशत रोगी आयातित छन् ।

‘आयातित बिरामी र जलवायु परिवर्तनका कारण पहाडी तथा हिमाली जिल्लामा समेत औलोको सङ्क्रमण देखिनु चुनौतीपूर्ण रहेको छ’ निरीक्षक जोशी भन्छन्, ‘यसको निवारणका लागि औलो सर्भिलेन्स रणनीतिअनुसार कार्य अगाडि बढाएका छौं । ’ रणनीति अनुसार औलो रोग पहिचान गर्ने, रोग प्रमाणित भएमा तत्काल उपचार गर्ने, रोग देखापरेको व्यक्तिको घर र समुदायसम्म स्वास्थ्यकर्मीको टोली पुगेर रोग परीक्षण गर्ने, उपचार गर्ने कार्य गर्दै आइएको र यस कार्यले समुदायमा थप औलो लाग्न नपाउने हुँदा रोगीको सङ्ख्या घटदै जाने उनको भनाइ छ ।

औलो रोग देखा परेको स्थान वरिपरी रोग सार्ने लामखुट्टे छ छैन, लामखुट्टे उत्पादन हुनसक्ने स्थान छ छैन भन्नेबारे अनुसन्धान गर्दै आइएको उनी उल्लेख गर्छन् । यस कार्यले एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सर्ने प्रक्रियामा अवरोध आउने भएकाले रोगीको सङख्या घटदै गएको छ ।

आव २०७९/८० मा सुदूरपश्चिम प्रदेशमा एक सय १९ जनामा औलोको सङ्क्रमण देखिएकामा स्थानीय आठ जना र आयातित (भारत लगायतबाट)  एक सय ११ जना पुगेका थिए । तीमध्ये प्लाज्मोडिएम फाल्सिपारमका १७ विरामी थिए । आयातित बिरामी १४ र स्थानीय तीन जनामा प्लाज्मोडिएम फाल्सिपारमको सङ्क्रमण देखिएको थियो ।

यसैगरी आव २०७८/७९ मा एक सय ७५ जना औलाका बिरामी देखा परेकोमा आयातित एक सय ५५ र स्थानीयवासी १६ जना बिरामी थिए । तीमध्ये प्लाज्मोडिएम फाल्सिपारमका आयातित १३ बिरामी फेला परेका थिए ।

‘विगतका वर्षको तुलनामा औलोका बिरामीको सङ्ख्या घट्नुमा प्रदेशका अधिकांश स्वास्थ्य संस्थामा औलो जाँचका लागि प्रयोगशाला स्थापना, आरडिटि कीट उपलब्ध हुनु, स्वास्थ्यकर्मीको क्षमता विकास गरेर औलो रोग समयमै पहिचान र व्यवस्थापन गरिनु रहेको छ ’ निरीक्षक जोशी भन्छन्, ,‘इन्टोमोलोजी प्रयोगशाला स्थापना गरेर औलो सार्ने लामखुट्टेको प्रभावकारी रोकथामका लागि प्रयास  गरिएका कारण पनि औलो रोग घटदै गएको छ ।’

औलो रोकथाममा विगत दुई दशकदेखि ग्लोबल फण्डको सहयोगमा कीटनाशक विषादीयुक्त झुल समुदायमा वितरण हुँदै जानु र औलो रोकथामका लागि कीटनाशक विषादी छिड्कावको कार्यहुँदै आएकाले पनि औलो सार्ने लामखुट्टे नियन्त्रण भई रोकथाम हुदै आएको उनी बताउँछन् ।

सुदूरपश्चिममा अहिलेसम्म २४ लाखभन्दा बढी जनसङख्या  औलोको जोखिममा  छन् । नेपाल औलो रणनीति योजनाअनुसार सन् २०२५ सम्म औलोमुक्त राष्ट्र बनाउने परिकल्पना गरिएकामा सन् २०२३ देखि २०२५ सम्म तीन वर्षको अवधिमा स्थानीय बिरामीको सङ्ख्यालाई शून्यमा झार्नुपरेको छ । सङ्घीय संरचनाअनुसार सबै स्वास्थ्य संस्थामा गुणस्तरीय जाँच, उपचारको न्यायोचित पहुँचसँगै रोकथामका उपाय अवलम्बन गर्ने उद्देश्य पिनि लिइएको छ ।