NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

आजदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरू

ललितपुर । ललितपुरको जावलाखेलमा आजदेखि १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० सुरु हुँदैछ । फ्लोरिकल्चर एसोसिएशन नेपालको आयोजनामा सुरु हुन लागेको प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्नेछ । यस वर्षको नारा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने रहेको छ ।

प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरुले उत्पादन गरेको गोदावरी फूलका पाँच प्रजातिबीच प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर छन् ।

एसोसिएशनका उपाध्यक्ष तथा मेला संयोजक सीताराम पन्तले मेलाको सबै तयारी पूरा भएको बताए । मेलामा पुष्प व्यवसायका क्षेत्रमा भएका विकास र नवीनतम् प्रविधिलगायतको जानकारी पनि उपलब्ध हुने उनले बताए ।

प्रदर्शनीमा व्यावसायिक कक्ष ५१, प्रतियोगितात्मक कक्ष दुई र सूचनामूलक चार गरी ५७ प्रदर्शनी कक्ष रहनेछन् ।  प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको एसोसिएशनका अध्यक्ष मीनबहादुर तामाङले बताए ।

एसोसिएशनले २०५१ सालदेखि पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आएको छ । अहिले ४८ जिल्लामा झण्डै दुई सय २१ हेक्टरमा पुष्प व्यवसाय भइरहेको छ । जसमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी चार लाख ४० हजारभन्दा बढी जनशक्ति रोजगार छन् ।

ताजा अपडेट

नेपालवाच विशेष