NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सरकारको नेतृत्व गरेको माओवादीद्वारा सडक संघर्षको घोषणा, २२ गते काठमाडौंमा के गर्दैछ?

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार बिहान जारी सर्कुलर अनुसार माओवादी केन्द्रले गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी खेमाबाट भइरहेका प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर गर्ने भन्दै माओवादी केन्द्रले सडक संघर्ष गर्न लागेको हो ।

कार्यक्रम अनुसार माओवादीले मंसिर २२ गते काठमाडौंमा सडक संघर्ष गर्ने जनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले निर्णयबारे सर्कुलर पठाउँदै माओवादीले मातहत कमिटी र भ्रातृसंगठनहरुलाई मंसिर २२ को तयारीमा उत्रन निर्देशन दिएको छ ।

माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार पहिलो चरणमा काठमाडौंमा संघर्षको कार्यक्रम घोषणा गरिएको हो । त्यसपछि प्रदेश र पालिका तहसम्म पुग्ने उनले जानकारी दिए ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था सम्बन्धमा अध्यक्ष प्रचण्डले गम्भीर चिन्ता व्यक्त गर्दै देशी विदेशी प्रतिगामी शक्तिहरू षडयन्त्रमुलक ढंगले विद्यमान उपलब्धिहरुलाई उल्टयान खोज्ने, अस्थिरता र अराजकता पैदा गराई मुलुकमा संकट निम्त्याउन खोज्ने प्रवृत्तिहरू देखिएको उनले ब्रिफिङ गरेका छन् ।

माओवादीले विदेशी शक्तिसमेत परिवर्तन उल्ट्याउन सक्रिय भएको विश्लेषण गरेको छ । तर ती शक्ति को हुन् भन्नेबारे सर्कुलरमा प्रष्ट गरिएको छैन ।

प्रधानमन्त्री भएका प्रचण्ड पछिल्लो सयम प्रतिगमनविरूद्ध सडकमा लाखौं जनता उतार्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।