गण्डकी प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा पठायो चिकित्सक र स्वास्थ्य सामग्री
कास्की । गण्डकी प्रदेश सरकारले गएरातिको भूकम्पबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज एक अपिल जारी गरी प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले चिकित्सकसहितको टोली त्यसतर्फ पठाइएको जानकारी दिए ।
सरकारले प्रदेश सरकार मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचनको नेतृत्वमा मेडिकल, हाडजोर्नी र एनेस्थिेसियाको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी का साथै उपचार सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पठाएको हो । स्थलमार्ग हुँदै जाने टोली आइतबार बिहान रुकुम पुग्ने र भूकम्पबाट घाइतेको उपचारमा खटिने छन् ।
अपिलमा मुख्यमन्त्री पाण्डेले जाजरकोट र रुकुमपश्चिममा भएको ठूलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको उल्लेख गरेका छन् । “विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न सङ्घसंस्था तथा नागरिक समाजलगायत सम्बन्धित सबैलाई प्रदेश सरकार अपिल गर्दछौँ”, अपिलमा भनिएको छ ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारकोतर्फबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुनःनिर्माणलगायतका कार्यमा कर्णाली प्रदेश सरकारसँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने बताएका छन् ।
गएराति जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा मानवीय तथा भौतिक क्षति भएको छ ।
प्रतिक्रिया