NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

देश शोकमा डुबेका बेला राजेश हमालको ‘मधु मस्ती’, सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति भएको छ । गृह मन्त्रालयका अनुसार, घटनामा अहिलेसम्म १५७ जनाको मृत्यु भइसकेको छ । कैयन् घाइते छन् ।

भूकम्प प्रभावित क्षेत्रका पीडितहरू यतिबेला उद्धार र रातहतको पर्खाइमा छन् । घटनालगत्तै राजनीतिककर्मी, सामाजिक अभियन्ता, विभिन्न पेशाकर्मी घटनास्थल पुगेर सहायतामा जुटेका छन् । रास्वपाका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने घटनालगत्तै जाजरकोट पुगेर लाइभ रेडियो कार्यक्रममार्फत पीडितको सहायतामा जुटेका छन् । नागरिकहरू समस्यामा पर्दा सहायता गर्नु सचेत नागरिकको कर्तव्य पनि हो ।

देश दुख्दा कलाकारलाई पनि दुख्नुपर्ने हो ।  यस्तोमा जनस्तरबाट ‘महानायक’को उपाधि पाएका राजेश हमालमाथि भने असंवेदनशील बनेको भन्दै आलोचनाको वर्षा सुरु भएको छ । विनाशकारी भूकम्पको केही समयपछि हमालले पोस्ट् गरेको तस्बिरका कारण उनको आलोचना भएको हो ।

श्रीमती मधुसँग रेस्टुरेन्टमा पुगेका हमालले आफ्नो फेसबुकमा ‘मधु मस्ती’ क्याप्सन दिएर १३ तस्बिर पोस्ट् गरेका छन् । विभिन्न मिष्ठान्न भोजन गरेका हमालसँग केही विदेशी पनि साथमा देखिन्छन् । हमालले यस्तो तस्बिर पोस्ट् गरेपछि देश शोकमा रहेका बेला अपाच्य हर्कत देखाएको भन्दै उनको आलोचना भएको हो ।

संकल्प चन्द ठकुरीले हमालले पोस्ट् गरेको तस्बिरमा प्रतिक्रिया दिँदै लेखेका छन्– देश महाविनाशकारी भूकम्पले रोएको छ । यता हाम्रो देशको आइकोनहरूको मनोदशा भने यस्तो छ ।’

ठकुरीको त्यही टिप्पणीमा प्रतिक्रिया जनाउँदै रोयल केसी नाम गरेका फेसबुक प्रयोगकर्ताले महानायकबाट अशोभनीय गतिविधि भएको उल्लेख गरेका छन् ।

नायक हमालले फेसबुकमा पोस्ट् गरेको तस्बिरमा यो समाचार तयार पार्दासम्म ६०६ प्रतिक्रिया आएका छन्, जसमा अधिकांश उनको आलोचनासँग सम्बन्धित छन् ।

निकै बौद्धिक नायकको छवि बनाएका राजेश निकै सुझबुझपूर्ण ढंगले जीवनयापन गर्ने कलाकारमा पर्छन् । कुनै विषयमाथि उनले दिने विचार निकै गहन र वजिला हुन्छन् । तर उनै नायकले विनाशकारी भूकम्पले देश शोकमा डुबेका बेला किन असंवेदनशील पोस्ट् गरे ? आफ्नो पोस्ट्माथि चौतर्फी आलोचना भए पनि हमालले अहिलेसम्म न त्यसबारे जवाफ दिएका छन् न त कुनै संशोधन नै गरेका छन् ।