विधायिकाको भूमिका कमजोर भयो : नेत्री कठायत
काठमाडौं । ‘सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन बिहीबारदेखि अन्त्य भयो । पछिल्लो १० महिनामा हामीले एउटा मात्रै कानुन बनाउन सक्यौं’, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले भनिन्, ‘यस्तो अवस्थामा विधायिकाको भूमिकामाथि प्रश्न उठ्न अस्वभाविक होइन ।’
सांसद कठायत सांसद र सरकार दुवै कानुन निर्माणमा भन्दा अन्य काममा बढी केन्द्रित हुँदा कानुन निर्माण गर्ने विधायिकाको भूमिका कमजोर भएको बताउँछिन् । उनका अनुसार संसद प्रभावकारी नहुनुको कारण दलगत स्वार्थ र टकराव हो ।
‘हाम्रो पहिलो काम र कर्तव्य कानुन निर्माण नै हो । जुन हामी पूर्णरुपमा गरिरहेका छैनौँ’, उनले भनिन्, ‘तर विकास निर्माणका काममा योजना हाल्ने, कर्मचारी सरुवा बढुवा गराइदिने र यताको कुरा उता गराइदिनेमा मात्रै बढी केन्द्रित भयौ जस्तो लाग्छ । मुख्य काममा ध्यान गइरहेको छैन । कानुन निर्माणमा हुनुपर्ने समय अन्यत्रै खर्च भइरहेको छ ।’
सांसद कठायत सांसदको भूमिकाबारे जनता र जनप्रतिनिधि दुवै स्पष्ट हुनुपर्ने बताउँछिन् । २८ वर्षीय सांसद कठायत २०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खस आर्यबाट पहिलो पटक समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
जुम्लाको चन्दननाथ नगरपालिकाको बासिन्दा कठायतको पारिवारिक राजनीतिक पृष्ठभूमि पुरानो राजनीतिक दलसँग जोडिएको छ । तर रास्वपा सभापति रवि लामिछानेसँग एक सञ्चारमाध्यममा काम गर्दै गर्दा उनी रास्वपा पार्टी स्थापनादेखि सदनसम्म जोडिन आइपुगेकी हुन् ।
संसदीय अभ्यासको १० महिनासम्मको अनुभव सुनाउँदै उनले भनिन, ‘सांसदबारे जति सुनेको थिए त्यतिमात्र सोचेको थिएँ । यदि म सांसद भएको भए धेरै काम गर्थे भन्ने हुन्थ्यो । जुन सांसद भएपछि धेरै फरक भएको पाएँ ।’ सांसदको भूमिकालाई प्रभावकारीरुपमा निर्वाह गर्न आफूलाई ‘अपग्रेड’ गर्दै लगेको उनको भनाइ छ ।
‘संसदीय अभ्यासको सुरुआती दिनमा पार्टी सभापतिले ठूला दलका नेताबाट सिक्नु हौसाउनुहुन्थ्यो । हामी डायरी र पेन लिएर बस्थ्यौं’, सांसद कठायतले भनिन्, ‘तर अहिले मन लाग्दैन । उहाँहरुले गरिरहेको अभ्यास हामीलाई सिक्नु छैन । उहाँहरुले गर्नुभएको अभ्यासलाई निरन्तरता दिने हो भने नयाँ पुस्ता राजनीतिमा आउने छैनन् ।’
उनले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा जनप्रतिनिधिले गर्व गर्ने ठाउँ नभएको बताइन् । ‘तपाईं सांसद हो, तपाईंले गर्नुपर्छ भन्नुहुन्छ, उहाँहरुको विश्वासले हामीलाई हौसला बढेको छ । तर म र मेरो पार्टीको २१ जनाले मात्र गरेर सम्भव हुदैन’, उनले भनिन्, ‘म सांसद हुँ भनेर गर्व गर्ने अवस्था छैन ।’
कर्णाली प्रदेशका जनताको आवश्यकताबारे सरकारको ध्यानाकर्षण गराउन सधैं अगाडि रहेकी सांसद कठायतले स्थानीय तहसँग ‘इगो’ को समस्याका कारण वास्तविक समस्या समाधान हुन नसकेको अनुभव सुनाईन । ‘तीन तहको सरकारबीच समन्वय नहुँदा सहकार्यमा समस्या भइरहेको छ । कतिपय समस्या सङ्घमा ल्याउनै नपर्ने हुन्छ, स्थानीय तहले नै सुन्ने र समाधान गर्ने समस्यालाई पनि इगोका कारण अल्झाइरहने स्थिति देखेको छु’, उनले भनिन्।
अझ फरक-फरक राजनीतिक पार्टीको सरकार हुने स्थानमा समस्या धेरै हुने उनको भनाइ छ । सदनमा कर्णालीको जनताको आवाज बोल्ने सांसद कठायतलाई जनप्रतिनिधिका रुपमा विश्वास जित्न उति सजिलो नहुने उनको अनुभव छ । ‘मेरो उमेर, तौल र अनुहार हेरेर कस्तो फुच्चे रहेछ भनेर नपत्याउने समस्या पनि हुने रहेछ । म महिला हुँ, त्यसका कारण पनि अविश्वास गर्नेछन्’, उनले भनिन् ।
प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक प्रकोप समितिको सदस्यसमेत रहेकी कठायतले युवाको सहभागिताबिना विकास सम्भव नहुने भन्दै पछिल्लो समय युवा नै विदेशिने क्रम बढेकोप्रति चिन्ता व्यक्त गरिन् । राज्यले युवामाथि विश्वास गर्दै उनीहरुमा विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिइन् ।
‘बङ्गलादेशमा अध्ययनरत एक नेपाली विद्यार्थीले अध्ययनका विदेश गएका हामी के आधारमा देश फर्किने ? भनेर सोध्नुभयो’, सांसद कठायतले भनिन्, ‘उहाँको प्रश्नले नमज्जाले दुःख्यो, हामी प्रयास गर्दैछौँ कृपया नेपाल फर्किनुहोस् र मिलेर काम गरौँ भन्नुबाहेक उत्तर थिएन ।’


प्रतिक्रिया