दुई साता पर धकेलियो कांग्रेस महासमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार पश्चिम नेपालमा गएको भूकम्प र सभाहलको प्राविधिक कारणले पार्टीको महासमिति बैठकको निर्धारित मिति दुई साता पछाडि सारेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले महासमिति बैठक आगामी मङ्सिर २९ देखि पुस २ गतेसम्म गर्ने नयाँ मिति तय गरेको पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । यसअघि आगामी मङ्सिर १३ देखि १५ गतेसम्म महासमिति बैठक गर्ने तय भए पनि उक्त मितिमा तयारी पूर्ण नहुने नदेखिएपछि कांग्रेसले नयाँ मिति तोकेको हो ।
भूकम्पका कारण तिहार अघिका पार्टीका औपचारिक कार्यक्रम स्थगन गर्नुपरेको र बैठक गर्ने सभाहल पनि निर्धारित मितिमा उपलब्ध नहुने भएपछि बैठकको मिति सार्नुपरेको उनले बताए। कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले भूकम्पबाट प्रभावितको तत्काल उद्धार, राहत र पुनस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गर्दै सरकारले हालसम्म गरेका कामका लागि धन्यवाद र थप क्रियाशील हुन आग्रह गरेको छ । कांग्रेसले भूकम्प प्रभावितको राहत र पुनःस्थापनाका लागि पार्टीका तर्फबाट घोषणा गरेको रु ५० लाख पर्याप्त नभएको भन्दै थप रकम जुटाउन पार्टीका सबै संरचनालाई आग्रह गरेको छ ।
बैठकले भूकम्प प्रभावितलाई प्रदान गर्ने राहत र वितरणमा अनियमता हुन नदिन पार्टीका तर्फबाट अनुगमन तथा सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया