NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भूकम्पपीडितले अझै पाएनन् त्रिपाल

जाजरकोट । गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किइन् । उनी  निस्कनेक्रमा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन् ।

उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ  बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आइरहेकी छन् ।  उनलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो समस्या देखिएको छ । खुल्ला सडकभन्दा माथि त्रासले जान नसकेको थापाकी १४ वर्षीया छोरीसमेत राति सुतिरहेको समयमा ‘हल्लायो हल्लायो’ भन्दै समय समयमा बोल्ने  गरेको  सुनाइन् ।

भूकम्पले मानसिक त्रासमा रहेका अधिकांश सदरमुकामवासी अहिले सडकको छेउछाउमा त्रिपालको सहारामा रातदिन कटाइरहेका छन् । सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाम भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर भत्किएपछि समस्यामा परेका छन् ।

राहत सामग्रीस्वरुप आएको त्रिपाल, अन्य सामग्री घरधनिका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए । वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनिबाहेक अन्यले नपाउने भनेपछि आफूहरु हैरानीमा परेको उनको भनाइ छ । खुल्ला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत, माग्दामाग्दा हैरान भएपछि हाम्रो कोही रहन्छ जनाउँदै निराश भएका छन् ।

त्यस्तै, अर्का गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा नपाएको गुनासो गरे।  जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुन ः एक थान त्रिपाल पाएको उनले सुनाए । सुरुमा क्षति भएको नामावली सङ्कलन गरी हाम्रो पनि लिएको थियो, अहिले हाम्रो नाम लिष्ट छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा आफू थप मारमा परेको थाप्लेका झलक मल्लले बताए ।

घर पूर्ण रुपमा भत्किएर समस्यमा परेको उनको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन । यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ । भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा समस्या रहँदै आएको छ । समयसमयमा भूकम्पको पराकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताए।

बालबालिका र वृद्ध सबैभन्दा बढी त्रासमा भएको उनले बताए । घरसँगै विद्यालयसमेत भत्किएपछि बालबालिका थप मानसिक समस्यामा छन् । घर भत्किएको छ भने पढ्न जाने विद्यालयसमेत भत्किएको छ । बिस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरि एकपटक विकासको बाटो बन्द गरिदिएको छ ।

कुन पालिकामा कति क्षति

भेरी नगरपालिकामा तीन सय ४४ घर पूर्णरुपमा भत्किएका छन् भने आंशिक सात सय १२, दुईवटा विद्यालय पूर्ण रुपमा भत्किएको र १७ वटा आंशिक रुपमा क्षति भएको छ ।

त्यस्तै भेरी नगरपालिकामा पाँचवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । मृत्युको सङ्ख्या ३६ रहेको छ भने घाइते ६५ रहेको छ । नलगाड नगरपालिकामा दुई सय घर पूर्णरुपमा क्षति भएको र ६ सय घर आंशिक भत्किएका छन् ।

विद्यालय १२ पूर्ण रुपमा भत्किएका छन् भने आंशिक रुपमा २१ वटामा क्षति पुगेको छ । ६ वटा सरकारी कार्यालयमा क्षति भएको छ । मृत्यु हुनेको सङ्ख्या ५२ रहेको छ । ७३ जना घाइते भएका छन् । छेडागाडमा एक सय घरमा पूर्ण क्षति भएको र आंशिक रुपमा पाँच सयमा क्षति भएको छ ।

तीन विद्यालयमा आंशिक क्षति भएको पाइएको छ । मृत्यु दुईजनाको भएको छ भने घाइते एकजना भएको बताएको छ । कुशे गाउँपालिकामा ९५  घर पूर्णरुपमा क्षति भएको छ भने तीन सय एकवटा आंशिक रुपमा क्षति पुगेको छ ।

चारवटा विद्यालय पूर्णरुपमा भत्किएका छन् भने १७ वटा आंशिक रुपमा क्षति भएको पाइएको छ । सरकारी कार्यालय एकवटा पूर्णरुपमा भत्किएको छ भने १७ आंशिक रुपमा क्षति पुगेको छ । दुईजनाको मृत्यु र एकजना घाइते भएको कुशेमा पाइएको छ । प्रहरीका अनुसार १६० घरहरु पूर्ण रुपमा बारेकोटमा भत्किएका छन्भने  पाँच सय ६० घर आंशिकरुपमा क्षति पुगेको छ ।

पाँचवटा विद्यालय पूर्णरुपमा भत्किएका छन् भने दुईवटा आंशिकरुपमा भत्किएको पाइएको छ । एक सरकारी कार्यालय पूर्ण रुपमा भत्किएको र दुई कार्यालय आंशिक क्षति पुगेको जानकारी प्राप्त भएको छ । चारजनाको मृत्यु तथा चारजना घाइते भएका छन् ।

शिवालय गाउँपालिकामा एक घर पूर्णरुपमा भत्किएको र ३७ वटा घर आंशिक क्षति भएको छ । पाँचवटा विद्यालयमा आंशिक क्षति पुगेको छ । एक सरकारी कार्यालयमा क्षति पुगेको बताएको छ । एकजना घाइते भएका छन् ।

जुनिचाँदे गाउँपालिकामा दुई सय ७० घर पूर्ण रुपमा भत्किएको र चार हजार ५६ घरमा आंशिक क्षति भएको छ । जाजरकोटमा एक हजार एक सय ७०  घर पूर्णरुपमा क्षति भएको पाइएको छ । सात हजार एक सय ६६ वटा घर आंशिक रुपमा क्षति भएको पाइएको छ । २३ विद्यालयको पूर्ण क्षति र ७५  आंशिक क्षति भएको जानकारी आएको छ । एक सय एक जनाको मृत्यु भएको छ । एक सय ५२ घाइते भएको प्रहरीले जनाएको छ ।