युवा संघको कार्यकर्ता बताउने युवाले दुर्गा प्रसाईंका समर्थकलाई मध्यराति होटलबाट लखेटे
युवा संघका महासचिव भन्छन्–हाम्रो संलग्नता छैन, यो प्रसाईंको फण्डा हो

काठमाडौं । राजतन्त्र पुनस्र्थापना हुनुपर्ने, सहकारी, लघु वित्तलगायतको ऋण मिनाहा हुनुपर्नेलगायत माग राखेर संघर्षरत गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंका समर्थक गएराति राजधानीको होटलबाट लखेटिएका छन् ।
प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले संघीय राजधानी काठमाडौंमा बिहीबारका लागि तय गरेको प्रदर्शनमा सहभागिताका लागि इटहरीबाट काठमाडौं आएका प्रसाईं समर्थकलाई युवा संघको कार्यकर्ता बताउने केही युवाहरूले आश्रय लिइरहेको होटलबाट गएराति लखेटेका हुन् ।
नागरिक बचाउ महाअभियान, बागमती प्रदेशका अभियन्ता कुमार नगरकोटीले जडिबुटीस्थित इन्द्रायणी ब्यांक्वेटमा आश्रय लिइरहेका आफ्ना समर्थकलाई गएराति १०ः३० बजे युवा संघका कार्यकर्ता आएर लखेटेको बताए । सुतिरहेको अवस्थामा महाअभियानका समर्थकलाई लखेटिएको उनको भनाइ छ ।
मध्यराति होटलबाट लखेटिनेमा महिलाहरू छन् । उनीहरूलाई गएराति नै उद्धार गरेर अर्को होटलमा सुरक्षितपूर्वक बस्ने प्रबन्ध मिलाइएको नगरकोटीले नेपालवाचलाई बताए ।
युवा संघका कार्यकर्ता बताउने युवाहरूले होटलमा सुतिरहेका प्रसाईं समर्थकलाई जबरजस्ती बसेको होटल छाड्न दबाब दिएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ । जसमा महिलाहरू सुतिरहेको स्थानमा प्रवेश गरेर कपडासमेत लगाउन नदिई काठमाडौं छाडेर घर फर्कंन दबाब दिएको सुन्न सकिन्छ ।
‘तपाईंहरू दुर्गा प्रसाईंको मंसिर ७ गतेको कार्यक्रममा सहभागी हुन आउनुभएको हो ?,’ एक युवाले महिलाहरूलाई प्रश्न गर्छन् । महिलाहरूले ‘हो’ भन्ने जवाफ दिएपछि ती कार्यकर्ताले तत्काल होटल छाडेर घर फर्कन निर्देशन दिन्छन् । जबरजस्ती गरेपछि महिलाहरूले कपडा लगाउन दिन अनुरोध गरेको भिडियोमा देख्न सकिन्छ ।
प्रसाईंका समर्थकमाथि गरिएको ज्यादतिको भिडियो सार्वजनिकपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । शान्तिपूर्ण ढंगले विरोध तथा प्रदर्शन गर्न पाउने हक संविधानले नागरिकलाई प्रदान गरेको स्मरण गराउँदै अराजनीतिक हर्कत गरेको टिप्पणी विभिन्न व्यक्तिले गरेका छन् ।
युवा संघ नेपालले भने यसमा आफ्नो संगठनको कुनै संलग्नता नरहेको दाबी गरेको छ । आफ्नो संगठनलाई बदनाम गर्न दुर्गा प्रसाईंले फण्डा गरेको दाबी युवा संघको छ ।
युवा संघ नेपालका महासचिव सुमन पुरीले आफ्नो संगठन यस्तो गतिविधिमा संलग्न हुने कल्पनासम्म गर्न नसकिने बताए ।
‘युवा संघ अराजकताविरुद्ध लड्ने संगठन हो । यस्तो काम हामी कल्पनासम्म गर्न सक्दैनौं । यो दुर्गा प्रसाईंको फण्डा हुनसक्छ,’ पुरीले नेपालवाचसँग भने ।
प्रतिक्रिया