पाथीभरामा दसैँतिहारमा मात्रै ६१ हजार बढी दर्शनार्थी
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँतिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार पाँच सय ६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् ।
वर्षभर नै पाथीभराको दर्शनका लागि तीर्थयात्री आउने गरे पनि दसैँतिहारको समयमा तुलनात्मक रुपमा धेरै दर्शनार्थी पुगेका समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले बताए । नवरात्रका समयमा देवीको पुजाआरधना गर्न उपयुक्त मानिने र चाडवाड, बिदालगायतका कारणले पनि उक्त समयमा धेरै दर्शनार्थी आएका उनको भनाइ थियो ।
यहाँ आउने दर्शनार्थीको गणनाका लागि अहिले गणना गर्ने प्रविधि सहितको सिसी क्यामेरा जडान गरिएकाले उक्त सङ्ख्यामा दर्शनार्थी आएका देखिएको निर्देशक हाङ्वाङले बताए । यस वर्ष दसैँतिहारमा मौसम सफा रहेकाले स्वदेशी तथा विदेशी तीर्थयात्रीको आगमन बढेको उहाँले जानकारी दिए ।
समितिका निर्देशक हाङ्वाङका अनुसार पाथीभरा मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । पाथीभरामा भारतको सिक्किम, आसामलगायतका ठाउँबाटसमेत तीर्थयात्री आउने गरेका छन् ।
पाथीभरा पुग्न ताप्लेजुङ सदरमुकाम हुँदै सवारी साधनमा काफ्लेपाटीसम्म र सो भन्दामाथि पैदल हिँड्नुपर्छ । करिब चार घण्टाको उकालो चढेपछि पुगिने मन्दिर तीन हजार सात सय ९४ मिटरको उचाईमा पर्दछ । दर्शनार्थीको चापलाई मध्येनजर गर्दै मन्दिर दर्शनका लागि जनशक्ति खटाएर आवश्यक व्यवस्थापन गरिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया