NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

स्वास्थ्य क्षेत्रमा प्राप्त सहयोगबारे छलफल आवश्यक : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दाताबाट प्राप्त सहयोगको समुचित प्रयोग भए नभएको प्रति सचेत बन्नुपर्ने धारणा राखेका छन् ।

स्वास्थ्य क्षेत्रमा भएको लगानीको प्रतिफलबारे छलफल र बहसको आवश्यकता भएको उनको भनाइ छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय संयुक्त वार्षिक समीक्षा’का अवसरमा उनले मन्त्रालयको आन्तरिक सुधारका साथै दाताबाट प्राप्त रकम कार्यक्रमको उद्देश्यअनुसार खर्च भए नभएको विषयप्रति मन्त्रालयका पदाधिकारीहरुलाई सचेत रहन निर्देशन दिए।

‘अन्तर्राष्ट्रिय दातृ संस्थाबाट सवास्थ्यका विभिन्न क्षेत्रमा आएको लगानीले के हामीलाई प्रतिफल दिएको छ त ? ’, उनले भने, ‘यस्ता कतिपय बजेट कहाँबाट आउँछ र कहाँ जान्छ ? बजेट उद्देश्यअनुसार खर्च भएको छ वा छैन त्यो पाटो पनि हेर्न जरुरी छ । त्यसैले सरकारले यी बजेटहरु रेडबुकमार्फत आउनुपर्छ ।’

मन्त्री बस्नेतले जनशक्ति, स्वास्थ्य उपकरण र भौतिक संरचनाको व्यवस्थापन गर्न मन्त्रालय लागेको बताए । यस्तै, मन्त्री बस्नेतले जनशक्तिको दरबन्दी थप्ने प्रक्रियाको तयारी भइरहेको समेत जानकारी दिए ।

‘तथ्याङ्कअनुसार ३३ हजार जनशक्ति छन् तर व्यवहारमा त्यो पनि छैन । गुणस्तरीय सेवा दिन यति जनशक्तिबाट सम्भव छैन’, मन्त्री बस्नेतले भने, ‘स्वास्थ्यमा नभई नहुने जनशक्ति दिन्छु भन्नेमा अर्थमन्त्रालय तयार भइसकेको छ । अब दक्ष जनशक्ति प्राप्तीका लागि लामो समय कुर्न पर्दैन ।’ चिकित्सा शिक्षाका विद्यार्थीमा निराशा बढेको भन्दै चिकित्सा शिक्षा ऐन संशोधन गरेर चिकित्सक र प्यारामेडिक्स नर्सको अध्ययनका लागि सहजीकरण गर्नपर्नेमा समेत जोड दिए ।

यस्तै, यसवर्ष विश्व स्वास्थ्य दिवसका अवसरमा मन्त्रालयले स्वास्थ्य क्षेत्रका सबै व्यक्ति, संस्था र निकायको सहभागितामा राष्ट्रियस्तरको कार्यक्रम गर्ने पनि मन्त्री बस्नेतले जानकारी दिए । उनले मन्त्रालयको कामको समीक्षा, आगामी कार्यक्रमको उद्देश्य र समस्याका विषयमा छलफल गर्ने तयारी गरेको बताए ।