NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

भारतीय तरकारी सस्तोमा बजार आउँदा नेपाली किसान मर्कामा

गल्याङ । भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् ।

कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानकोे तरकारीको उत्पादन लागत बढी पर्न जान्छ । उत्पादन लागत बढी पर्ने हुँदा यहाँका किसानलाई भारतीय तरकारीभन्दा नेपाली तरकारी महँगोमा बिक्री गर्नुपर्ने बाध्यता छ ।

गल्याङ नगरपालिका–७, थुमका किसान अग्नि न्यौपानेले तरकारीलाई मुुख्य पेसा बनाएको नौ वर्ष भयो । सुुमन कृषि तथा पशुुपालन फार्ममार्फत उनले अदुवा, टमाटर, काउली, बन्दाकोभी, अकबरे खुर्सानी, बेमौसमी मकै, साग, मुला, धनियाँलगायत खेती गर्दै आएका छन् । न्यौपानेले भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आए पनि तरकारी बेचेर वार्षिक रु सात लाख आम्दानी गर्ने गरेको जिकिर गरे ।

‘भारतीय तरकारी सस्तोमा बजारमा आउँदा हाम्रो उत्पादनले उचित मूल्य पाएको छैन’, उनले भने, ‘यही व्यवसायबाट छ जनाको परिवार राम्रोसँग पालेको छु, भविष्यका लागि धेरैथोरै रकम जम्मा पनि गरेको छु ।’ न्यौपानलेले दस रोपनी जमिनमा लगाउनुभएको चार टन अदुुवा बिक्री गरेर अघिल्लो वर्ष रु तीन लाख ५० हजार आम्दानी गरेका थिए ।

उनको छोरी समीक्षाले प्राविधिकतर्फ तीनवर्षे बाली विज्ञान पढ्दै आएकी छन् । बाबाले गरेको कामको सम्मानका लागि र राज्यले कृषि क्षेत्रमा गरेको लगानीे सदुपयोग गर्न आफूले कृषि प्राविधिक विषय रोजेको उनको भनाइ थियो । समीक्षाले यस क्षेत्रमा कृषिको प्रचुर सम्भावना भए पनि सिँचाइको असुविधा र भारतीय तरकारीले बजार खाँदा समस्यामा परेको गुनासो गरिन् ।

‘हामीले उत्पादन गरेका तरकारी विषादीरहित र गुणस्तरीय छन्’, समीक्षाले दुखेसो पोखिन्, ‘हाम्रो उत्पादन बजार पुुग्दा भारतीय तरकारी पनि सस्तोमा बजारमा आउँछ, अनि हामी पनि सस्तोमा बिक्री गर्न बाध्य हुुन्छौँ । यसैले नेपालका व्यावसायिक कृषकलाई टिकाउन भारतीय तरकारी विस्थापन गर्नुुपर्छ । ’

त्यस्तै वालिङ नगरपालिका–५, पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल कृषकको पहिचान बनाएका छन् । शिक्षण पेसा बीचमै छोडेर व्यावसायिक तरकारी खेतीमा लागेका उनले पनि भारतीय सस्तो तरकारीका कारण आफूहरु मारमा परेको गुनासो गरे ।

लामिछानेले गोलभेँडा, काउली, बन्दा, काँक्रो, सिमी, बोडी, अकबरे खुर्सानीलगायत तरकारी लगाउँदै आएका छन् । उनको फार्ममा पाँच सय ५० बोट सुन्तला, तीन सय बोट कफी, १८ घार माहुरी र गड्यौलासमेत छन् । लामिछानेले फार्मबाट वार्षिक रु १२ लाख बराबरको कृषिउपज विक्री हुने गरेको भन्दै खर्च कटाउँदा रु आठ लाख बचत गर्ने हुने गरेको जानकारी दिए । उनले गड्यौलाबाट उत्पादित मल भने आफ्नै तरकारी बारीमा प्रयोग गर्दै आएका छन् ।

लामिछानेका छोरा सन्तोषले भारतीय तरकारीले ठूलो मात्रामा तरकारी खेती गर्ने गरेका कारण सस्तो हुने हुँदा नेपाली किसान मारमा परेको बताए । ‘हामीले स्थानीय बजारलाई लक्ष्य गरेर ठूलोमात्रामा तरकारी उत्पादन गरेका हुन्छौँ, उत्पादन लागत बढी पर्ने हुँदा हाम्रो तरकारी केही महँगो हुन्छ’, उनले भने, ‘हाम्रो तरकारी बजारमा पुग्दा ठिक त्यही समय भारतीय तरकारी सस्तोमा बजारमा आउँछ, अनि नेपाली किसानले प्रतिस्पर्धा गर्न सक्दैनन् ।’