अटोचालक महिलाको अनुभव : ‘इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ’
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ ।
उनले भनिन्, ‘जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ ।’ उनी छोरीसँगै अटो लिएर बिहान साढे ९ बजे घरबाट निस्किन्छिन् । छोरीलाई स्कुल छाडेपछि अनिताको अटोको काम सुरु हुन्छ ।
महिलाले सवारीसाधन चलाउने काम गर्नु हुँदैन भन्ने सोचलाई परिवर्नन गर्न र आर्थिक उपार्जनका लागि पनि अटो चलाएको अनिताको भनाइ छ । ‘अटो चलाउन थालेको पाँच वर्ष बितिसक्यो, परिवारको पूरापुर सहयोग भएर यहाँसम्म आएको छु’, उनले भनिन्, ‘महिला भएर पनि अटो चलाउन सक्छौँ भन्नेले मेरो मेहनत देखेर अहिले प्रशंसा गर्न थालेका छन् ।’
अटो चलाउन थालेपछि अनिताको दैनिकी फेरिएको छ । आम्दानी बढेको छ, घर-घडेरी जोडिएको छ । छोराछोरी पढाउन सजिलोमात्रै भएको छैन, विदेश गएका श्रीमान् पनि श्रीमतीको मेहनत र कमाई देखेर स्वदेश फर्किएका छन् ।
‘पहिले सानो एउटा घर थियो, अहिले अर्को पक्की घर बनाएकी छु’, उनले भनिन्, ‘मेरो काम देखेर श्रीमान् विदेश नजाने हुनुभएको छ, यही पसल गर्ने योजना बनाएका छौँ ।’
महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने उनको अनुभव छ । सम्पत्तिमा महिलाको पहुँच बढाउन सक्ने हो भने महिलामाथिको विभेद र हिंसा घटाउन सकिने उनले बताइन्। ‘लगनशील र इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ’, उनले बताइन्, ‘महिलाले सीप सिक्न र आत्मनिर्भर बन्न जरुरी छ, यसबाट महिलाहरूकै मेहनतले घर सम्पत्ति जोडेका उदाहरण पनि भेटिन्छन् ।’
महिलालाई सीप सिक्न र स्वरोजगारमा जोडिएर आत्मनिर्भर बन्न अनिताको सुझाव छ । यसले परिवार र समाजबाट हुने हिंसा घटाउने उनको बुझाइ छ । अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा अनिताजस्तै अरू महिला पनि सवारी चालक बनेका छन् ।
गैंडाकोटमा दुई जना महिला व्यावसायिकरूपमा अटो चालक रहेका छन् । सङ्गठित भएका चालकहरूको सम्पर्कमा दुई जनामात्र महिला छन् ।
ताजा अपडेट
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना
-
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
-
रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति
-
काभ्रेमा बस दुर्घटना : आठ जनाको मृत्यु
-
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा भट्टराई नियुक्त


प्रतिक्रिया