मनाङमा भारी हिमपात, जनजीवन कष्टकर
मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ । अहिले मनाङमा हिमपात हुने बेला हो । कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो । यस वर्ष समयै हिमपात हुँदा किसानमा खुशी छाएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका पशुपालक किसान सोनाम लामाले परिवारका अन्य सदस्य काठमाडौँ गए पनि आफू र आमा भने पशुचौपायको हेरचाहका लागि गाउँमै बसेको बताए । उनले भने, ‘परिवारका अरू सदस्य काठमाडौँ गयो । हामी जस्तै यिनलाई पनि भोक लाग्छ त्यसैले हेरचाह गर्न यहीँ छौँ आमा र म ।’ हिमपात भएपछि चिसो बढेको उनले बताए ।
त्यसैगरी, मनाङ ङिस्याङ–१ का पशुपालक किसान याङदुङ गुरुङले यस वर्ष समयमा हिमपात हुँदा स्थानीयवासी खुसी भएका बताए । उनले भने, ‘अहिले परेको हिउँ फागुन, चैतसम्म रहन्छ र पानी खेतीपातीलाई पानी पुग्छ । यसले उत्पादन पनि राम्रो हुन्छ । हिमपात हुँदा चिसोले पशुचौपायलाई घाँसपात र कुडोपानी गर्न र घरबाहिर निस्कनै मुस्किल भएको छ ।’
किसान गुरुङका अनुसार चिसोले जनजीवन कष्टकर बने पनि समयमा हिमपात हुँदा खेतीपातीका लागि टेवा पुग्नेछ । हिमपात भएपछि स्थानीयवासीमा खेतीपातीका लागि पानी सिञ्चित हुने भएकाले उनीहरु खुसी भएका हुन् । यस समयमा परेको हिउँ फागुन, चैतसम्म रहने भएकाले सिँचाइका लागि पानी बोटबिरुवाको जरासम्म पुग्छ। हिमपात भएपछि यहाँ आवतजावत र दैनिक कामकाज गर्न सकस भएको छ ।
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले हिमपातका कारण जनजीवन कष्टकर भएको बताए । उनले हिमपात जारी रहेकाले पर्यटक, स्थानीयवासी, कर्मचारी, कामदारलाई सचेत रहन आग्रह गरे । सदरमुकाम चामेसम्म भारी हिमपात भइरहेको छ भने नासों गाउँपालिकाको डाँडाकाँडामा हिमपात भएको छ । हिमपात भएपछि स्थानीयवासी, पर्यटकलगायत सबै घरभित्र बस्न बाध्य भएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया