मनाङमा भारी हिमपात, जनजीवन कष्टकर
मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ । अहिले मनाङमा हिमपात हुने बेला हो । कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो । यस वर्ष समयै हिमपात हुँदा किसानमा खुशी छाएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका पशुपालक किसान सोनाम लामाले परिवारका अन्य सदस्य काठमाडौँ गए पनि आफू र आमा भने पशुचौपायको हेरचाहका लागि गाउँमै बसेको बताए । उनले भने, ‘परिवारका अरू सदस्य काठमाडौँ गयो । हामी जस्तै यिनलाई पनि भोक लाग्छ त्यसैले हेरचाह गर्न यहीँ छौँ आमा र म ।’ हिमपात भएपछि चिसो बढेको उनले बताए ।
त्यसैगरी, मनाङ ङिस्याङ–१ का पशुपालक किसान याङदुङ गुरुङले यस वर्ष समयमा हिमपात हुँदा स्थानीयवासी खुसी भएका बताए । उनले भने, ‘अहिले परेको हिउँ फागुन, चैतसम्म रहन्छ र पानी खेतीपातीलाई पानी पुग्छ । यसले उत्पादन पनि राम्रो हुन्छ । हिमपात हुँदा चिसोले पशुचौपायलाई घाँसपात र कुडोपानी गर्न र घरबाहिर निस्कनै मुस्किल भएको छ ।’
किसान गुरुङका अनुसार चिसोले जनजीवन कष्टकर बने पनि समयमा हिमपात हुँदा खेतीपातीका लागि टेवा पुग्नेछ । हिमपात भएपछि स्थानीयवासीमा खेतीपातीका लागि पानी सिञ्चित हुने भएकाले उनीहरु खुसी भएका हुन् । यस समयमा परेको हिउँ फागुन, चैतसम्म रहने भएकाले सिँचाइका लागि पानी बोटबिरुवाको जरासम्म पुग्छ। हिमपात भएपछि यहाँ आवतजावत र दैनिक कामकाज गर्न सकस भएको छ ।
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले हिमपातका कारण जनजीवन कष्टकर भएको बताए । उनले हिमपात जारी रहेकाले पर्यटक, स्थानीयवासी, कर्मचारी, कामदारलाई सचेत रहन आग्रह गरे । सदरमुकाम चामेसम्म भारी हिमपात भइरहेको छ भने नासों गाउँपालिकाको डाँडाकाँडामा हिमपात भएको छ । हिमपात भएपछि स्थानीयवासी, पर्यटकलगायत सबै घरभित्र बस्न बाध्य भएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया