NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

युवा विदेशिने दर दश वर्षकै उच्च !

काठमाडौं । विगत १० वर्षको अवधिमा गत आर्थिक वर्ष ०७९/८० मा सबैभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा गए । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आवमा सात लाख ७१ हजार तीन सय २७ जना नेपाली युवा बिदेसिएका हुन् ।

विभागको तथ्यांकअनुसार गत आवमा मात्रै दुई लाख ५९ हजार पाँच सय ९४ ले श्रम स्वीकृति लिएर मलेसिया गए । त्यस्तै, एक लाख ३३ हजार दुई सय ६२ कतार गए । एक लाख १२ हजार सात सय ७७ जना साउदी अरब गए भने एक लाख १६ हजार एक सय ५९ जना युएई पुगे । ३१ हजार चार सय १० कुवेत, सात हजार ६ सय ९० बहराइन र पाँच हजार दुई सय ९४ जनाले ओमानका लागि श्रम स्वीकृति लिएको तथ्यांक छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

आव ०७०/७१ मा पाँच लाख १९ हजार ६ सय ३८ जना नेपाली युवा रोजगारीका लागि बिदेसिएको तथ्यांक छ । तत्पश्चात् वैदेशिक रोजगारीमा जानेको संख्या क्रमिक रूपमा घटेको तथ्यांक छ ।

विगत आठ वर्षको प्रयासपछि ०७२ साल असोज ५ मा सरकारले संविधान जारी ग¥यो । यद्यपि, सोही वर्ष महाभूकम्प गयो र भारतले नाकाबन्दी पनि लगायो । यसका बाबजुद पनि वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको देखिन्छ । त्यस्तै, ०७४ सालमा निर्वाचन भयो, स्थायी सरकार बन्यो ।

स्थायी सरकार बन्ने भएपछि वैदेशिक रोजगारीमा युवाको आकर्षण घटेको देखिन्छ । योसँगै ०७६ सालमा सुरु भएको कोभिड महामारीका कारण सरकारले श्रम स्वीकृति नै बन्द गरिदियो । तर, कोभिडको प्रभाव कम हुँदै गएपछि बिस्तारै बिदेसिनेको संख्या पनि बढ्दै गयो ।