NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सलकपुरको सुन्तला बोटबाटै बिक्री

झापा । इलामको रोङ गाउँपालिका–६ मा किसानले उत्पादन गरेको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित सुन्तला खरिदका लागि केही भारतीय र झापाका व्यापारी पुग्ने गरेका छन् ।

वडा नं ६ मा मात्र वार्षिक आठ सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । वडाको सलकपुर, कुवापानी र जौबारीलगायतका क्षेत्रमा प्रतिहेक्टर १० दशमल तीन मेट्रिक टनका दरले सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

विगतमा विभिन्न रोगका कारण सुन्तला मर्न थालेपछि किसान निराश बनेका थिए । ज्ञान केन्द्रले किसानलाई सुन्तलामा लाग्ने रोग नियन्त्रण, जैविक मल बनाउने र सुन्तला हुर्काउने प्रविधिका बारेमा तालिम सञ्चालन गरेसँगै उनीहरूमा उत्साह थपिएको केन्द्रका सूचना अधिकारी रुजन खड्काले बताए । सो वडाको ९० हेक्टर जमिनमा सुन्तला खेती हुने गरेको उनले जानकारी दिए ।

उनका अनुसार केन्द्रले सुन्तला सुदृढीकरण कार्यक्रमअन्तर्गत छजना सुन्ताला किसानलाई गत वर्ष रु एक लाखका दरले अनुदानसमेत प्रदान गरेको थियो । चालु आर्थिक वर्षमा समेत किसानले सो कार्यक्रम माग गर्दै कार्यालयमा निवेदन दर्ता गराएका छन् । केन्द्रका सूचना अधिकारी खड्काका अनुसार इलामका विभिन्न स्थानमा गरी तीन सय ६० हेक्टर बढी जमिनमा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ ।

वडा नं ६ का वडाध्यक्ष सत्यम राईले विगतमा रोगका कारण धेरै सुन्तला खेती नष्ट भएपछि हाल नयाँ खेती विस्तार गर्ने कामसमेत भइरहेको बताए । उनले सुरुमा वडाको सलकपुरमा हुँदै आएको सुन्तला खेती कुवापानी, जौबारी क्षेत्रमा विस्तार हुन थालेको बताए ।

उनले सलकपुरको स्वादिलो सुन्तला बोटमै टिपेर खानका लागि इलाम, झापा, मोरङ, सुनसरीदेखिका आन्तरिक पर्यटक घरबास (होमस्टे) मा बास बस्दै आउने गरेको समेत जानकारी दिए । सलकपुरमा मात्र १४ वटा होमस्टे सञ्चालनमा छन् । उनीहरूलाई भने प्रतिकेजी रु ८० देखि ९० मै दिने गरिएको छ ।

उनले विसं २००४ मा दार्जिलिङबाट आएर बसोबास गरेका गौरीलाल लामाले यहाँ सुन्तला खेतीको सुरुआत गरेको बर्ता । सुरुमा दार्जिलिङबाट बिरुवा ल्याएर खेती सुरु गरे तापनि हाल पाल्पाबाट उन्नत जातका सुन्तलाको विरुवा ल्याएर व्यावसायिक रोपण भइरहेको उनको भनाइ छ ।

सुन्तला खेतीबाट वार्षिक वडा नं ६ मा रु पाँच करोडदेखि छ करोडसम्म रकम भित्रिने गरेको छ । यस क्षेत्रमा उत्पादन गरेको सुन्तला बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता नभएको उनले बताए । ‘झापादेखिका व्यापारीले सुन्तला नपाकी बोटमै खरिद गर्छन्’, उनले भने, ‘उत्पादनमा मात्र ध्यान दिए पुग्छ बजारको समस्या छैन ।’

अध्यक्ष राईले यहाँका हरेक सुन्तला किसानले वर्षमा रु पाँच लाखदेखि १५ लाखसम्म आम्दानी गर्ने गरेको बताए । उनले चालु आवमा वडाले सुन्तला किसानको समूह बनाएर अध्ययन, अनुसन्धान पनि हुने र बिरुवा खरिदका लागि बाहिर जानुपर्ने बाध्यता हटाउन नर्सरी खेती सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।

स्थानीय सुन्तला किसान खगेन्द्र राईले अलैँची मासेर १५ रोपनी जमिनमा व्यावसायिकरूपमा सुन्तला खेती गरेका छन् । जसमध्ये १० प्रतिशत क्षेत्रको सुन्तलाले यस वर्षदेखि आम्दानी दिन सुरु गरको उनको भनाइ छ । ‘राम्रो उत्पादन गर्न सक्यो भने बजारको समस्या छैन’, उनले भने, ‘स्थानीय वडाले सुन्तला खेतीलाई प्रोत्सहान गर्न प्राविधिक सहयोग निःशुल्क दिने गरेको छ ।’

विगतमा यहाँको सुन्तला खरिदका लागि भारतीय व्यापारीसमेत आउने गरेका थिए । तर स्थानीय किसानले भारतीय व्यापारीलाई भन्दा नेपाली व्यापारीलाई नै प्राथमिकता दिन थालेपछि उनीहरू आउन छाडेका छन् । सुन्तला, अलैँची, अकबरे, अम्लिसो, महलगायतका कृषिजन्य सामग्री उत्पादनले प्रसिद्ध सलकपुरमा विभिन्न ठाउँबाट त्यसैको अध्ययनका लागि पनि पर्यटक आउने गरेको वडाध्यक्ष राईको भनाइ छ । यहाँ उत्पादित सुन्तला भारतको कोलकातामा हुने सुन्तला महोत्सवमा समेत प्रत्येक वर्ष लैजाने गरिन्छ ।

झापाका काँकडभिट्टा, धुलाबारी, विर्तामोड, दमक, भद्रपुरमात्र होइन हरेक गाउँगाउँमा व्यापारीले ट्रकमै राखेर ‘आयो है सलकपुरको सन्तुला’ भन्दै घुमाएर बेच्न गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष