चितवनबाट दुई हात्ती शुक्लाफाँटा लगिँदै
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हात्ती थपिँदैछन् ।
तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षार्थ गरिने गस्तीका लागि हात्तीको अभाव रहेको थियो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अनुसार १० हात्तीको दरबन्दी रहेको शुक्लाफाँटामा हाल आठ हात्ती छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले चितवनबाट यहाँ दुई हात्ती ल्याउने विषयमा विभागबाट निर्णय भइरहेको बताए।
विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख बासस्थान रहेको शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्वपूर्ण बासस्थान छ । हाल यहाँ बाघ गणना भइरहेको छ ।
निकुञ्जभित्र सडक सञ्जालको पहुँच नभएको र तालतलैया भएको संवेदनशील क्षेत्रमा हात्तीको सहारामा निकुञ्ज कर्मचारी एवं निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले गस्ती गर्ने गरेका छन् ।
‘चितवनबाट दुई हात्ती थपिएपछि काम गर्न सहज हुन्छ’, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, ‘जङ्गली हात्तीबाट क्षति कम गर्न पनि विभिन्न कोणबाट कार्यक्रम सञ्चालन हुने तयारी छ ।’ निकुञ्जभित्र पश्चिम सेक्टरमा हात्तीबाट गस्ती गरेर वन्यजन्तु सुरक्षामा जोड दिइएको भए पनि पूर्व अर्जुनी सेक्टरमा भने कर्मचारी र सैनिक जनशक्ति मात्र परिचालित छन् ।
निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुबेला गरी तीन स्थानमा हात्तीसार छन् । एउटा हात्ती गस्ती लैजानेदेखि स्याहारसम्म गरेर माहुते, पछुवा र फणित गरेर तीन कर्मचारी खटिँदै आएका छन् । विसं २०२६ मा सिकार आरक्षका रूपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा भएको थियो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जारी बाघ गणनाको नजिता आगामी वैशाखसम्म सार्वजनिक गरिनेछ । यसैगरी निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र स्थापनाका लागि पनि गृहकार्य भइरहेको प्रमुख संरक्षण अधिकृत भट्टराईको भनाइ छ ।
‘बाघलगायत सबै खाले वन्यजन्तुको उद्धार एवं नियन्त्रणमा लिने खालको जनशक्तिसहितको टोली तयार हुँदैछ’, उनले भने, ‘अब केही समयपछि वन्यजन्तुको उद्धारका लागि बर्दियालगायत अरु ठाउँको भर पर्नुपर्दैन्’
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया