NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सर्नेभन्दा नसर्ने रोगको सिकार बन्दै नेपाली, अवस्था भयावह

काठमाडौं । नेपालमा नसर्ने रोगबाट प्रभावितको संख्या उच्च देखिन थालेको छ । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७९/८० मा मात्रै नसर्ने रोगका १५ लाख २१ हजार ३६ बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुगेका थिए, जुन कुल जनसंख्याको ५.२२ प्रतिशत हो ।

अस्वस्थ जीवनशैली र खानपान मुख्य कारक मानिने नसर्ने रोगबाट पीडितहरूको बढ्दो संख्या हेर्दा बर्सेनि अवस्था भयावह बन्दै गएको देखिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार नसर्ने रोगहरूमध्ये उच्च रक्तचापको समस्याबाट प्रभावितको संख्या सबैभन्दा धेरै छ । ०७९/८० मा ६ लाख ३० हजार दुई सय ५६ जना यसबाट प्रभावित भएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

दोस्रोमा मधुमेहबाट पीडित हुने धेरै देखिएका छन् । मधुमेहबाट तीन लाख १२ हजार तीन सय ४२ जना पीडित भई अस्पताल पुगेको देखिन्छ । त्यसपछि श्वासप्रश्वाससम्बन्धी समस्याबाट एक लाख ८५ हजार आठ सय ४७ जना, आज्माबाट एक लाख २९ हजार पाँच सय एकजना प्रभावित भई अस्पताल पुगेको तथ्यांकमा उल्लेख छ ।

क्यान्सरबाट ६७ हजार तीन सय ८२ जना, कार्डियोभास्कुलरसम्बन्धी समस्याबाट १९ हजार दुई सय ६२ जना, मिर्गौलासम्बन्धी समस्याबाट २४ हजार पाँच सय ३७ जना प्रभावित भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यसबाहेक नौ हजार नौ सय ८४ जना रेयुम्याटिक मुटुरोगबाट, पाँच हजार पाँच सय ५१ जना स्ट्रोकबाट, पाँच हजार नौ सय २२ जना हृदयाघातबाट र सिकलसेललगायतका रगतसम्बन्धी रोगबाट ६ सय ६५ जना प्रभावित भएको विभागको तथ्यांक छ । यसै वर्ष मानसिक समस्याबाट पीडितको संख्या ५५ हजार आठ सय ५३ थियो ।