गण्डकी प्रदेश सरकारद्वारा पूर्वाधार निर्माणलाई तीव्रता

गण्डकी । गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । पछिल्लो समय नयाँ तथा पुराना सबै पूर्वाधार आयोजनाको कामले गति लिन थालेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ ।
यसअघि ठेक्का सम्झौता भइसकेका र नयाँ आयोजना कार्यान्वयनमा गएको कार्यालय प्रमुख दिनेशकुमार घिमिरेले बताए । कार्यालयले समस्याग्रस्त भनेर औँल्याएका आयोजनाका निर्माण कम्पनीलाई काममा फर्काइएको उनले उल्लेख गरे ।
उनले पुराना बहुवर्षीय छ सडक आयोजनाको काम अगाडि बढेको जानकारी दिए । रु ३० लाखदेखि रु दुई करोडसम्मका आधा बढी आयोजनाको ठेक्का सम्झौता भइसकेको उनको भनाइ छ । चालु आवमा उक्त कार्यालयमा रु ८८ करोड बजेट छ ।
कार्यालयमार्फत नयाँ र पुराना गरी कूल एक सय ६५ आयोजना कार्यान्वयन हुने जनाइएको छ । कार्यालय प्रमुख घिमिरेका अनुसार चालु आवमै कार्यान्वयन गर्नुपर्ने दुईवटा सडक र दुईवटा सडक पुल विस्तृत आयोजना प्रतिवेदन बन्ने चरणमा छन् ।
बहुवर्षीय सडक र पुल निर्माण पछिल्लो दुई वर्षयता सुस्ताएको थियो । काम रोकेका आयोजनाका निर्माण कम्पनीलाई ताकेता गरी काममा फर्काइएको कार्यालय प्रमुख घिमिरेले बताए। धरौटी जफत, ठेक्का सम्झौता रद्ध, कालोसूचीमा राख्ने तयारी गरिएपछि निर्माण कम्पनीमा काममा खटिएका हुन् ।
कार्यालयले समस्याग्रस्त आयोजनाको सूचीमा छ सडक आयोजनालाई राखेको थियो । दुईवटा सडक र दुईवटा सडक पुलको बहुवर्षीय ठेक्का लगाउन भौतिक मन्त्रालयको सिफारिसमा आर्थिक मामिला मन्त्रालयले बजेट स्वीकृत गरेको जनाइएको छ ।
पुराना बहुवर्षीय योजनाहरुलाई यस वर्ष सम्पन्न गराउन थप रु २१ करोड बजेट माग गरिएको कार्यालयले जनाएको छ । मन्त्रालयले रकमान्तरण गरेर भए पनि निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानीको व्यवस्था मिलाउने तयारी गरेको जनाएको छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया