उम्मेदवार चयनले माओवादीमा किचलो, न्यौपाने भन्छन्– पद पाइनँ भनेर नबौलाऊँ

काठमाडौं । राष्ट्रियसभा सदस्य उम्मेदवार चयनले प्रमुख सत्तारूढ दल माओवादीभित्र असन्तुष्टि चुलिएको छ । वैज्ञानिक ढंगले उम्मेदवार चयन गर्नुपर्नेमा त्यसलाई पन्छाएर मनमौजी गरिएको असन्तुष्टहरूको आरोप छ ।
आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्यको रिक्त १९ सिटमा सत्तासाझेदार दलबीचको भागबण्डामा माओवादीले ६ सिट पाएकोमा आइतबार नै उम्मेदवार टुंगो लगाइसकेको छ । माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दलाई उम्मेदवार बनाएको हो ।
जनयुद्ध लडेर आएको क्रान्तिकारी दल दाबी गर्ने माओवादीभित्र पदका लागि मरिमेट्ने प्रवृत्ति अन्य दललाई पनि माथ खुवाउने किसिमको छ । केही समयअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसैतर्फ संकेत गर्दै आफ्नो पार्टीका सबै सांसद मन्त्रीको आकांक्षी रहेको अनौठो तथ्य सार्वजनिक गरेका थिए ।
स्रोतका अनुसार, राष्ट्रियसभामा जान लालायितको संख्या माओवादीमा दुई दर्जन बढी थियो । आकांक्षीहरूले उम्मेदवार बन्न यसबीचमा दौडधूप निकै तीव्र पारेका थिए । तर नेतृत्वले चाहेरै पनि सीमित सिटमा सबैलाई समेट्ने अवस्था थिएन । त्यसैले कम आकांक्षीलाई मात्र अवसर दिन सक्यो ।
माओवादीका एक सचिवालय सदस्य चाहँदा चाहँदै पनि पार्टीले राम्रा व्यक्तिलाई राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउन नसकेको बताउँछन् । सीमित सिटका कारण सबैलाई समेट्न नसकिएको कुरा आकांक्षीले मनन गर्नुपर्ने ती नेताको तर्क छ ।
माओवादीभित्र उम्मेदवार बन्न आकांक्षा राखेकाहरूले उम्मेदयार चयन न्यायपूर्ण नभएको गुनासो गरेका छन् । पटक–पटक अवसर पाइसकेकालाई पनि दोहोर्याइएको, पार्टीमा जनयुद्धकालदेखि लगानी गर्नेलाई पन्छाइएको, इमानदारलाई उपेक्षा गरेर अवसरको खोजी गर्नेलाई समेटिएको लगायत आरोप आकांक्षीहरूको छ । माओवादीले उम्मेदवार बनाएकामध्ये सुवेदी र चन्द संविधानसभाका सभासद हुन् । सुवेदी तिनै व्यक्ति हुन् जसले ०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई हराएर सनसनीपूर्ण जित निकालेका थिए ।
नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपाने राजनीति गर्ने व्यक्ति पदको पछि लाग्न नहुने मत प्रकट गर्छन् । उनको विचारमा राजनीतिमा आबद्ध व्यक्ति विचार, राजनीति, संस्कृति र संगठनात्मक पद्धतिको बहसमा केन्द्रित हुनुपर्छ ।
राष्ट्रियसभा सदस्य पदको रिक्त सिटमा माओवादी केन्द्रले न्यौपानेलाई उम्मेदवार बनाउनुपर्ने मत माओवादीभित्र उठेको थियो । तर न्यौपानेले भने सुरुदेखि नै त्यसमा आफ्नो रुचि नरहेको प्रष्ट पार्दै आएका थिए । माओवादी केन्द्रभित्र वैचारिक एवं सैद्धान्तिक नेताको छवि बनाएका न्यौपाने जनयुद्धकालदेखि नै पार्टीमा सक्रिय भए पनि अवसरबाट वञ्चित हुने नेतामा पर्छन् । नेता न्यौपाने तर न्यौपाने विचार, राजनीति, संस्कृति र संगठनात्मक पद्धतिमा बहस गर्न छाडेर पदको पछि लाग्न नहुने तर्क गर्छन् ।
नेता न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विचार, राजनीति, संस्कृति र संगठनात्मक पद्धतिमा वहस गर । तर मैले पद पाइनँ भनेर बौलाउने काम नगर ।’
ताजा अपडेट
-
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
-
अख्तियार र महालेखाबीचको समन्वय कानुनी रुपमै गर्ने प्रणाली बसाल्न सम्भव होला ?
-
नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
-
परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह
-
पोखरामा भएको विष्फोटबारे छानविन गर्न गृहले बनायो समिति
प्रतिक्रिया