NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

नरम बनेका रवि फेरि चुके

काठमाडौं । अघिल्ला पत्रकार सम्मेलनमा आक्रामक देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सोमबार फरक देखिए । उनले नम्र रुपमा आफुमाथि लागेका आरोपको जवाफ दिएका छन् ।

खासगरी ग्यालेन्सी टिभी छाड्दा एक करोड ८० लाख रुपैयाँ लिएको आरोपबारे उनले पत्रकार सम्मेलन गरेका थिए । तर, आफ्नो खातामा जम्मा भएको भनिएको चेक बाउन्स भएको र पैसा आफुले नलिएको बताएका छन् ।

तर, पैसा जम्मा गरिएको बैंक भौचर प्रयोग गरी शेयर ट्रान्सफर गरिएको देखिएको छ । यसमा उनी चुकेका छन् । यद्यपी यसमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

सुरुमा कम्पनीमा पैसा पनि आफुले नहालेको र कम्पनी छाड्दा पनि तलब बाहेक केही नलिएको उनको दाबी छ । प्रमुख लगानीकर्ता जिबी राईले नै शेयर मिलाउन त्यो सबै काम गरेको हुनसक्ने उनको संकेत छ ।

पत्रकार सम्मेलन गरेर लामिछानेले ग्यालेक्सीबाट पैसा नलिएको त प्रष्टीकरण त दिएका छन् तर कम्पनी रजिष्ट्रारको कार्यालयलाई भने झुक्याएको विवादमा परेका छन् । यद्यपी त्यसबारे कर लगायत विषयमा राज्यलाई कुनै नोक्सान भएको छैन । बैंक भौचर देखाएकै आधारमा शेयर हस्तान्तरण हुने प्रावाधानको फाइदा उठाइएको देखिएको छ ।

सोमबारको पत्रकार सम्मेलनमा रविले विगतमा कान्तिपुर पत्रिका प्रबन्ध निर्देशक सम्भव सिरोहियामाथि लगाएको आरोपमा पनि माफी मागेका छन् । सम्भवको दुर्घटनाको घटनालाई गोप्य राखिएको लगायतका आरोप यसअघि लगाएका थिए । सोमबारको पत्रकार सम्मेलनमा रविले परिपक्कता देखाएका छन् । साथै, सहकारी पीडितको मुद्दालाई आफुहरुले निरन्तर उठाउने घोषणा समेत गरेका छन् । सहकारी ठगीको पैसा ग्यालेक्सी टिभीमा लगाएको आरोप उनीमाथि लाग्दै आएको छ । तर, सहकारी ठगीमा उनको प्रत्यक्ष संलग्नता भने अहिलेसम्म देखिएको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष