धमिलिँदै धौलागिरिको सेतो स्वरुप

म्याग्दी । जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौँ अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएपछि हिमालको मौलिक स्वरुप धमिलिदै जाँदा कालो देखिन थालेको हो ।
धौलागिरि हिमालमा पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भएपनि पछिल्लो समय हिउँ पर्ने समय (हिउँद) मा पनि हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको धवलागिरि गाउँपालिका–४ का वडासदस्यसमेत रहेका पर्यटन व्यवसायी हरि तिलिजाले जानकारी दिए । “धौलागिरि हिमालको स्वरुपमा परिवर्तन देखिन थालेको करिब सात वर्षजति भयो । त्यसभन्दा पहिले हिम शृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो”, उनले भने, “पछिल्ला केही वर्षयता हिमालको तल्लो भाग कालो पहाडजस्तो देखिन थालेको छ । हिउँदमासमेत हिमालको तल्लो भाग धमिलो र कालो देखिन थालेको छ ।”
एक दशक अघिसम्म धौलागिरि हिमाल र पश्चिमका उच्च लेकाली क्षेत्रमा पुस लाग्ने वित्तिकै हिउँपरेको देखिनेमा विगत केही वर्षयता हिमालमा हिउँ परेको हेर्न फागुन कुर्नुपर्ने अवस्था आएको स्थानीय टेकप्रसाद पुनले बताए । “पहिले पुस महिनामा भारी हिमपात हुने भए पनि पछिल्लो समय फागुनतिर हिउँ पर्न थालेको छ । यसवर्ष मध्य माघसम्म पनि राम्रोसँग हिउँ परेको छैन । समयमा हिउँ पर्याप्त नपर्ने, हिमालमा भएको हिउँ पग्लिएर जाँदा हिउँले ढाकिएका भू–भाग काला पहाडमा परिणत हुँदै जान थालेका छन्”, उनले भने ।
धौलागिरि हिमालको आधारशिविर जाने पदमार्गअन्तर्गत जापानी आधार शिविरदेखि सुरु हुने हिउँ जमेर बनेको हिमतालसमेत बर्सेनि पग्लिएर जाने क्रम बढेसँगै यस्ता तालको सतह घट्दै गएको पाइएको धवलागिरि गाउँपालिका–४ मुदीका वडाअध्यक्ष यामबहादुर घर्तीले बताए । “म जान्ने हुँदादेखि धौलागिरि वरपरका सबै डाँडाकाँडा मङ्सिरदेखि नै हिउँ परेर सेताम्यै हुन्थे”, उनले भने, “खर्क र खोल्सामा चिस्यान हुन्थ्यो । अहिले हिमालको तल्लो भाग र वरपरिका डाँडा सबै काला भएका देखिन्छन् ।”
समयमा हिउँ नपर्दा हिमाल मात्र काला देखिएका होइनन् तल्लो क्षेत्रमा पाइने पशुपक्षी र जङ्गली जनावर पनि बसाइँ सर्न थालेका स्थानीयवासीले बताएका छन् । “धौलागिरि वरपरका उच्च लेकाली जङ्गलमा मात्र पाइने रेडपाण्डा अहिले बस्ती छेउमा देखिन थालेका छन् । कालीज, तित्रा पनि गाउँमै भेटिन थालेका छन्” स्थानीय पृथबहादुर विकले भने ।
धौलागिरि मात्रै नभइ जिल्लाको गुर्जामा रहेका गुर्जा, चुरेन र पुथा हिमालमा समेत बर्सेनि हिउँको मात्रा घट्दै गएको स्थानीयवासी बताउँछन् । याममा पनि कम मात्रै हिमपात हुने र तापक्रम वृद्धिले हिउँ पग्लिँदै बग्ने क्रमले हिमाल हिउँविहीन देखिन थालेका उनको भनाइ थियो ।
हिउँको मात्रा घट्दै गएपछि अहिले हिमालको तल्लो भाग पूरै काला पहाडजस्तो देखिन थालेको विकले बताए। “पछिल्ला केही वर्षयता हिउँ पर्ने क्रम घट्दै गएको छ । दश वर्षजति भयो हिमाल र वरपरका क्षेत्रमा हिउँ कम पर्न थालेको”, उनले भने, “पहिले पाँच छ फिटसम्म हिउँ पर्दथ्यो । हिउँ पग्लिन हप्तौँ लाग्थ्यो । अहिले मुस्किलले दुई÷तीन फिटसम्म पर्छ । त्यो पनि एकै दिनमा पग्लिएर बग्छ ।”
हिउँ पर्ने क्रम घट्दै गएपछि हिमाली खेतीबाली उत्पादनमा कमी आउनाका साथै हिमालको फेदीमा पाइने यार्सागुम्बासमेत पाइन छाडेको वडाअध्यक्ष घर्तीले जानकारी दिए। तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर हिउँ पग्लिनेमा मात्रै नदेखिएर हिमाली क्षेत्रको खेतीबालीमा पनि देखिएको उनको भनाइ थियो ।
पहिले खेतीबालीमा खासै समस्या नदेखिने गरेपनि पछिल्लो समय विभिन्न प्रजातिका किराको सङ्क्रमणले आलु, जौ लगायतका खाद्य बाली उत्पादनमा कमी आउन थालेको किसानको भनाइ छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिन थालेपछि त्यस क्षेत्रका स्थानीयवासी चिन्तित बनेका छन् ।
प्रतिक्रिया