NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराएका छन् । उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफार्इ सेवा उपलब्ध गराएका हुन् ।

इन्टरनेटको बढ्दो महत्त्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफार्इ जोन घोषणा गरिएको वडा सदस्य भलाकाजी कार्कीले जानकारी दिए ।

उनले भने, “जोरबौद्ध नगरपालिकाको व्यस्त सडक हो । साथै सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्ला बाहिरका लागि सवारी साधनसमेत यही सडक हुँदै जाने भएकाले वाइफाइ सेवा उपयोगी छ ।”

उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाइ सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पा बताउँछन् ।

उनले भने, “इन्टरनेटको सहज पहुँच भएपछि विद्यार्थी, अभिभावक, सुरक्षार्कीलगायत लाभान्वित हुन्छन् ।”

इन्टरनेट सेवा निशुल्क पाएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन् । सुरुआतमा लाग्ने इन्टरनेट जडानखर्चसहित वार्षिक रूपमा तिर्नुपर्ने इन्टरनेट खर्च रु. १२ हजार पाँच सय वडाध्यक्ष शेर्पाले नै बेहोरेका हुन् ।