NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

आहा रारा गोल्डकप : उपाधिका लागि आर्मी र थ्रीस्टार भिड्दै

कास्की । कास्कीको पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन भएको आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करणको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो २ बजेदेखि उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् ।

आर्मी क्लबले यसअघि चार संस्करणमा प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन । प्रतियोगितामा पाँचौँ पटक उपाधि नजिक पुगको आर्मीको मुख्य लक्ष्य च्याम्पियन बन्ने नै हुनेछ । थ्रीस्टार क्बलले भने हालसम्म पाँच पटक उपाधि जितिसकेको छ । थ्रीस्टार छैटौँ उपाधिको खोजीका लागि आज मैदानमा उत्रने छ । आर्मी यसअघि २०६५, २०६६, २०७२ र २०७५ सालमा प्रतियोगिताको फाइनलमा पुगेको थियो ।

पछिल्लो पटक आर्मी र थ्रिस्टार २०७५ सालमा फाइनलमा भिडेका थिए । तर त्यस बेला थ्रिस्टार नै च्याम्पियन बनेको थियो । उपाधि भिडन्तमा पाँचवर्षपछि थ्रीस्टारसँग बदला लिने मौका आर्मीलाई छ । थ्रीस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ सालमा प्रतियोगिताको उपाधि चुमेको थियो । प्रतियोगितामा हालसम्म सात पटक फाइनलमा पुगेको थ्रीस्टार २०७४ सालमा सम्पन्न १६औँ संस्करणमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

जारी प्रतियोगितामा आर्मीले प्रिक्वाटरफाइनलको पहिलो खेलमा राइजिङ स्टार फुटबल क्लबलार्ई हराएर विजयी सुरुआत गरेको थियो । क्वाटर फाइनलमा सङ्कटा र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई पराजि गर्दै आर्मी फाइनल पुगेको हो । थ्रीस्टारले भने उद्घाटन खेलमा आयोजक सहारालाई हराएको थियो । क्वाटरफाइनलमा भुटानको पारो फुटबल क्लब र सेमिफाइनलमा जावलाखेल युथ क्लबमाथि जित निकाल्दै उसले फाइनलमा स्थान बनाएको हो ।

प्रतियोगिताको च्याम्पियन टोलीलाई रु १२ लाख एक हजार तथा उपविजेताले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने आयोजक सहरा क्लबका अध्यक्ष केशवराज बरालले बताए । पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउने छन् ।