NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

धरहराको पार्किङ हटाउने पत्र महानगरलाई होइन, केपी ओलीलाई लेख्नू : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले धरहराको बेसमेन्टमा थालिएको सवारीसाधनको पार्किङ जारी रहने प्रष्ट पारेका छन् । साथै उनले पार्किङको विषयमा महानगरलाई नभएर २ वर्ष ९ महिना २० दिनअघि नै धरहरा उद्घाटन गर्ने केपी ओलीलाई पत्र लेख्न सहरी विकास मन्त्रालयलाई सुझाएका छन् ।

न्युरोड क्षेत्रमा सवारीसाधन पार्किङ निषेध गरेर धरहरामा निःशुल्क पार्किङ सञ्चालन गरेपछि सहरी विकास मन्त्रालयले त्यसको सुरक्षामाथि प्रश्न उठाउँदै रोक्न काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ । त्यसको प्रत्युत्तरमा मेयर शाहले पार्किङ बन्द नहुने बरु यसलाई थप व्यवस्थित गरिने स्पष्ट पारेका हुन् ।

‘सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन । महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन हुँदैछ, अझै व्यवस्थापन गर्दै लैजाने छौं,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

धेरैको नजर यहाँको पार्किङको ठेक्का पारेर सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने देखिएको बालेनले बताए । तर आफू महानगरमा रहेसम्म कसैको निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति दुरूपयोग हुन नदिने उनले स्पष्ट पारे ।

‘अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौं महानगरमा रहुन्जेल कसैको निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौं,’ शाहको प्रतिबद्धता छ ।

मेयर शाहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि आक्रोस पोखेका छन् । उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि निर्माण सम्पन्न नभएको भनेर महानगरलाई नभई तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्न उनले सुझाएका छन् ।

धरहराको निर्माण कार्य नसकिँदै ०७८ वैशाख ११ गते केपी शर्मा ओलीले हतार हतार यसको उद्घाटन गरेका थिए । निर्माणाधीन अवस्थामै धरहराको उद्घाटन गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको थियो । तर ओलीले यस्तो वस्तुनिष्ठ जवाफ नदिएर ‘निर्माण नसकिएको भए म कसरी बीसौं तलामा आएँ त’ भन्दै दम्भयुक्त टिप्पणी गरेका थिए । बालेनले ओलीको यो प्रतिप्रश्नलाई निर्लज्जको संज्ञा दिए ।

‘उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नु भएको थियो, नबनेको भए म बीसौं तलामा कसरी पुँगे भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ,’ शाहले लेखेका छन् ।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र सहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुरासँग ख्याल ठट्टा नगर्न पनि मेयर शाहले मन्त्रालयसँग आग्रह गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष