छ महिनामै सडक दुर्घटनामा धेरै मानवीय क्षति
महोत्तरी । सडक दुर्घटनामा हुने मानवीय क्षतिको सङ्ख्या बर्सेनि बढ्दै छ । आर्थिक वर्ष २०८०/८१ का बितेका छ महिनामा मधेसमा सडक दुर्घटनामा परी दुई सय ५५ ले ज्यान गुमाएका थिए । सो अवधिमा भएका साना तथा ठूला चार हजार चार सय ७७ सडक दुर्घटनामा पाँच हजार ६६ जना घाइते भएका बाराको पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सोही अवधिमा सडक दुर्घटनामा परी महोत्तरीका ३१ जनाले ज्यान गुमाएका थिए । जिल्लाका विभिन्न स्थानमा भएका दुई सय ६५ वटा सडक दुर्घटनामा अङ्गभङ्ग भई घाइते हुने तीन सय २५ पुगेकामा ८४ जना त सख्त घाइते भई अझै सकसपूर्ण अवस्थामा रहेका महोत्तरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामभक्त भट्टराईले बताए ।
सडक दुर्घटनामा ज्यान जाने र घाइते हुनेमा बढीजसो ३० वर्ष मुनिका युवा रहेका र तीमध्ये धेरैजसो मोटरसाइकल दुर्घटनामा परेका उनको भनाइ थियो । सवारीसाधन चलाउने दक्षता र सोसम्बन्धी अनुमतिपत्र बेगर नै मोटरसाइकल चलाउने बढी दुर्घटनामा परेका ट्राफिक प्रहरीको अभिलेखमा उल्लेख छ । विशेषगरी युवा उमेरका मोटरसाइकल चालकले मादकपदार्थ सेवन गरेर द्रुतगतिमा सवारीसाधन चलाउँदा दुर्घटना बढी भएका देखिएको प्रमुख भट्टराईको भनाइ थियो ।
“हामीले निरन्तर जाँच गर्ने, कारबाही गरी जरिवाना तिराउने र अन्य सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, उनले भने, “तर दुर्घटना न्यूनीकरण भएका छैनन् ।” जाडो याममा बाटो नदेखिने गरी लाग्ने बाक्लो हुस्सु पनि दुर्घटनाका कारण रहेको ट्राफिक प्रहरीको भनाइ थियो । महोत्तरीमा बितेका छ महिनामा कूल २३ हजार तीन सय ४८ सवारीसाधन कारबाहीमा परेकामा सबैभन्दा बढी १२ हजार पाँच सय २८ मोटरसाइकल परेका थिए ।
यसैगरी चार हजार आठ सय २८ कार तथा जिप र चार हजार ९८ ट्रक कारबाहीमा परेकामा तिनबाट रु एक करोड ९१ लाख, ९६ हजार पाँच सय जरिवाना असुल गरिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया