NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सतर्कता केन्द्रमा परेका आधाभन्दा बढी उजुरी तामेलीमा

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आधाभन्दा बढी उजुरी तामेलीमा राखेको छ । गत आर्थिक वर्ष ०७९/८० मा केन्द्रले ९३७ उजुरीमाथि छानबिन गर्दा ४९५ लाई तामेलीमा लगेको हो ।

गत आवमा सम्पादित कार्यहरूको वार्षिक प्रतिवेदन केन्द्रका सचिव रामआधार साहले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पेस गरेका छन् । प्रतिवेदनअनुसार गत आवमा परेका सात सय र अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका २३७ सहित ९३७ उजुरीमाथि केन्द्रले छानबिन गरेको थियो । त्यसमध्ये ६६७ उजुरी गत आवमै फस्र्योट गरेको देखिएको छ ।

फस्र्योट भएकामध्ये ५९ उजुरीको छानबिन गरेर थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको प्रतिवेदनमा उल्लेख छ । ११३ उजुरीउपर सुझाव, निर्देशन, सतर्क र ध्यानाकर्षण गराइएको केन्द्रले जनाएको छ । फस्र्योट गरिएकामध्ये ४९५ उजुरी तामेलीमा लाने निर्णय गरेको हो । कसुर प्रमाणित हुन नसकेका कारण तामेलीमा राख्ने निर्णय भएको केन्द्रको दाबी छ । तर, परेका आधाभन्दा बढी उजुरी तामेलीमा लैजाने निर्णय गर्नुले सतर्कता केन्द्रको अनुसन्धान तथा छानबिन पद्धति र जवाफदेहितामाथि नै प्रश्न उठाएको छ ।

केन्द्रको प्रमुख कार्यको रूपमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रवद्र्धनात्मक तथा निरोधात्मक गतिविधि गर्नु रहेका छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ मा केन्द्रको काम, कर्तव्य र अधिकार उल्लेख छ । त्यस्तै, राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ ले भ्रष्टाचार नियन्त्रणका लागि सूचना संकलन गर्ने, अनुगमन गर्ने, सुझाव वा निर्देशन दिने, सतर्क गराउने, कारबाहीका लागि लेखी पठाउने, सम्पत्ति विवरण तथा आयको अनुगमन गर्ने, प्राविधिक परीक्षण गर्नेलगायतका कार्यहरूको व्यवस्था गरेको छ । तर, कानुनले निर्दिष्ट गरेका क्षेत्र र कार्यमा केन्द्रको कार्यसम्पादन कमजोर देखिँदै आएको छ । केन्द्रका प्रवक्ता कृष्णप्रसाद पन्थ भने तथ्य र प्रमाणले पुष्टि नभएका उजुरी तामेलीमा गएको बताउँछन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।