NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

१२ कम्पनीले अनुगमन कार्यालयलाई टेरेनन्, पुनः सातदिने स्पष्टीकरण माग

काठमाडौं । कबोलअनुसार काम नगर्ने १२ आपूर्ति तथा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले पुनः स्पष्टीकरण सोधेको छ ।

विभिन्न सरकारी निकायले सम्झौताअनुसारको काम नगरेको भन्दै कालोसूचीमा राखिदिन अनुगमन कार्यालयलाई लिखित आग्रह गरेपछि पहिलो चरणमा ३० दिने स्पष्टीकरण सोधिएको थियो । ती कम्पनीबाट उक्त पत्रको कुनै जवाफ नआएपछि कार्यालयले पुनः सातदिने स्पष्टीकरण सोधेको हो ।

३० दिनभित्र स्पष्टीकरण पेश गर्न १२ कम्पनीको घर ठेगानामा पत्राचार गरिएको तर जवाफ नआएपछि थप कदम चालिएको कार्यालयले जनाएको छ ।

स्पष्टीकरण सोधिएका कम्पनीमा चम्पावती रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र प्रालि, न्यू प्रिसियि फेसन ओयर, प्रगति कन्स्ट्रक्सन प्रालि, ए–वान खप्तड कन्स्ट्रक्सन प्रालि, कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालि र ओम साई कन्स्ट्रक्सन प्रालि छन् ।

यसमध्ये ओम साई कन्स्ट्रक्सन प्रालिलाई दुई सरकारी निकाय सडक डिभिजन, पाल्पा र सार्वजनिक निर्माण कार्यान्वयन एकाइ, गजुरीले कालोसूचीमा राख्न लेखी पठाएका छन् ।

त्यसैगरी, चण्डी निर्माण सेवा, साहनी विल्डर्स, सप्तकोषी जलाधार निर्माण कम्पनी, अर्घा भगवती कन्स्ट्रक्सन, जुडिसियल पाथ एण्ड लिगल सर्भिस प्रालि र भाव्या कन्स्ट्रक्सनलाई पनि सातदिने स्पष्टीकरण सोधिएको छ ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम ४ (क) प्रयोजनार्थ सूचना जारी गरेको कार्यालयले यी कम्पनीले अटेरी गरेमा वा चित्तबुझ्दो जवाफ नआएमा कालोसूचीमा राखेर सरकारी खरिद प्रक्रियामा वञ्देज लगाउन सक्छ ।